बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी


घोराही (दाङ), असोज १२ । घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताउनुहुन्छ ।
रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थाल्नुभएको हो । अहिले उहाँले फूललाई प्रतिकेजी रु चार सयका दरले र माला एक थानलाई रु एक सयमा बिक्री गर्दै आउनुभएको छ ।
उमेरले ४० वर्ष पुग्नुभएका किसान मगरले विगत १३ वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ । यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताउनुहुन्छ । जलजला पुष्प फार्मबाट व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएका किसान मगरले स्थानीय केही नागरिकलाई रोजगारीसमेत दिनुभएको छ ।
अहिले जिल्लासहित चितवन, बुटवलमा पनि फूल, माला पठाउँदै आएको बताउनुहुन्छ । उहाँले वार्षिक रूपमा रु ३५ लाख बढीको फूल, माला बिक्रीको कारोबार गर्नुहुन्छ । यसबाट रु १०–१५ लाख वार्षिक रूपमा बचत हुने उहाँको भनाइ छ । असोज महिनामा विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगाएत कार्यमा फूलमाला बिक्री भइरहेको उहाँ बताउनुहुन्छ ।
उहाँले बिहेको माला पनि तयार पारेर बिक्री गर्दै आउनुभएको छ । उक्त माला रु एक हजारमा बिक्री गर्ने गनुभएको छ । किसान मगरले माला बनाउनका लागि बिजुलीको फूल पनि उत्पादन गर्नुभएको छ । किसान रोकामगरले विभिन्न प्रजातिका फूलका बिरुवा पनि उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ । व्यावसायिक रूपमा फूलखेती गरेका र अन्य घर वरपर सजाउनका लागि पनि फार्ममै आएर नागरिकले लैजाने गरेको उहाँले बताउनुभयो ।
अब तिहार पनि आउँदै गरेकाले सरकारीस्तरबाट पलाष्टिकका मालालाई प्रतिबन्ध लगाएमा फूलखेती गरेका किसानलाई राहत हुने उहाँ बताउनुहुन्छ । पछिल्लो समय आमनागरिकले पनि स्थानीयस्तरमा उत्पादित सयपत्रीको माला नै प्रयोग गर्ने प्रचलन बढ्दै गएकोप्रति उहाँ खुसी हुनुहुन्छ । यस व्यवसायमा उहाँलाई परिवारको पनि राम्रो साथ र सहयोग मिलेको छ ।
जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेपछि यसको मूल्य पनि पहिलेको तुलनामा घट्दै गएको छ । तर आमनागरिकले कम मूल्यमा पनि स्थानीयस्तरमै उत्पादित ताजा फूलमाला प्रयोग गर्न पाएकोप्रति किसान मगर खुसी व्यक्त गर्नुहुन्छ ।






















