पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन

रासस
२०८२ भदौ १५ | बिहान ११:०५ बजे

झापा, भदौ १५ ।मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१÷८२ मा दान पेटिकाबाट रु ७४ लाख ७४ हजार, सहयोग रसिदबाट रु ४४ लाख ४१ हजार, जिन्सी सामान बिक्रीबाट रु १२ लाख ३८ हजार र आजीवन सदस्यताबाट रु ८८ हजार आम्दानी भएको बताउनुभयो । बैंकमा रहेको बचतको ब्याजबापत रु पाँच लाख ६० हजार, अनलाइनमार्फत आय रु दुई लाख ५४ हजार र विविध आम्दानीबापत रु ३० हजार ७२० सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।
मन्दिरको शौचालय, धाम परिसरमा मार्वल तथा टायल्स बिछ्याउने कार्य र एउटा भवनसमेत बनाउँदा सो आवमा रु ५७ लाख खर्च भएको समितिका अध्यक्ष ढकालले बताउनुभयो । मन्दिरको नाममा रु एक करोड १२ लाख २१ हजार बैंक मौज्दात रहेको छ । समितिले चार गुरुसहित नौ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ ।


















