बङ्गुरपालनबाट मनग्य आम्दानी

नवलपुर टुडे

सारांश
- वैदेशिक रोजगारीका रूपमा साउदी अरबमा १५ वर्ष बिताएर फर्किएका नवलपुरका नन्दे गुरुङले स्वदेशमै उत्तम पशुपन्छी तथा कृषि फार्म दर्ता गरी बङ्गुरपालन व्यवसाय सुरु गरेका छन्।
- हाल उनको फार्ममा बङ्गुरका दुईवटा वयस्क भाले, १२ वटा माउ तथा १५ वटा पाठापाठी रहेका छन् भने मासुभन्दा पाठापाठी बिक्री र गर्भाधानका लागि भाले दिएबापत राम्रो आम्दानी भइरहेको छ।
- अन्य पशुपन्छीको तुलनामा बङ्गुरपालन गर्न कम झन्झटिलो र सहज हुने तथा थोरै मिहिनेतमा राम्रो आम्दानी हुनेभएकोले उनी यो व्यवसायबाट पूर्ण रूपमा सन्तुष्ट छन्।

नवलपुर । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुटेका छन् । अरूको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल फर्किएर बङ्गुरपालनमा जुटेको ५९ वर्षीय गुरुङ बताउँछन् ।
“आठ वर्ष अगाडि फेरि नजाने गरी साउदीबाट घरमा आएँ”, गुरुङले भने, “घर फर्किएपछि विभिन्न काम गर्दै अहिले बङ्गुरपालनमा जुटेको छु ।” अन्य पेसा र व्यवसायभन्दा बङ्गुर पाल्न सहज र राम्रो आम्दानी हुने भएपछि बङ्गुरपालनलाई अगाडि बढाएको गुरुङले बताए । “नेपाल फर्किएपछि उत्तम पशुपन्छी तथा कृषि फार्म दर्ता गरेर सुरुमा कुखुरा पाल्न सुरु गरेको थिएँ”, उनले भने, “कुखुरापालनमा बढी मिहिनेत गर्दा पनि मिहिनेतअनुसार आम्दानी हुन सकेको थिएन, त्यसपछि बङ्गुरपालन सुरु गरेँ ।”
बङ्गुरपालनबाट सन्तुष्ट भएको सुनाउँदै गुरुङले बङ्गुरसँगै करिब छ बिघा जमिनमा आलु तथा अन्य तरकारी खेती गरेको बताए । “सुरुमा एउटा माउ बङ्गुर पालेर अनुभव लिएको थिएँ । थोरै मिहिनेतमा राम्रो आम्दानी हुन थालेपछि बङ्गुरको सङ्ख्यालाई बढाएको छु”, उनले भने, “अहिले मसँग बङ्गुरका दुई वटा वयस्क भाले, १२ वटा माउ तथा १५ वटा पाठापाठी रहेका छन् ।” बङ्गुरको भालेबाट र पाठापाठी बिक्रीबाट राम्रो आम्दानी हुने गुरुङले बताए ।
“अन्य किसानले बङ्गुरको माउ पालेको ठाउँबाट भाले लिन मकहाँ आउँछन्”, गुरुङले भने, “एक जनाले एउटा भाले लगेबापत बेलुका रु छ हजारसहित भालेलाई फिर्ता लिएर आउँछन् ।” किसानहरूले बङ्गुरको गर्भाधान प्रक्रियाका लागि भालेलाई लिएर जाने गरेका गुरुङको भनाइ छ । भालेलाई हिँडाएर लैजान नसकिने भएकाले गाडीमा लैजाँदाको भाडा लिएर जाने किसानले व्यहोर्ने भन्दै गुरुङले घरमा लिएर आउँदा आफूले तिर्ने गरेको बताए ।
“बङ्गुरको मासु बिक्रीबाट खासै आम्दानी नहुने भए पनि पाठापाठीको बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ”, उनले भने, “पहिलेपहिले बङ्गुर काटेर बिक्री गर्ने गरेको थिएँ, हिजोआज पाठापाठी नै बेच्दै आएको छु ।” बङ्गुरको एक महिनाको पाठापाठी रु छ हजारमा बिक्री हुने गरेको गुरुङले बताए । बङ्गुरले साढे तीन महिनामा बच्चा पाउने गरेको गुरुङले बताए ।
“एकपटक गर्भाधान गर्दा बङ्गुरले कम्तीमा नौ वटा पाठापाठी पाउने गरेको छ”, उनले भने, “मैले पालेको बङ्गुरले एकपटकमा २० वटासम्म पाठापाठी पाएको छ ।” थोरै पाठापाठी पाउँदा माउको दूध पर्याप्त पुग्ने र पाठापाठी फस्टाउने गरेको भन्दै गुरुङले धेरै पाठापाठी पाएको अवस्थामा बच्चा हुर्काउन कठिन हुने गरेको बताए । “धेरै पाठापाठी पाएको बेलामा बच्चा साना भएर बिक्री गर्नै कठिन भएको थियो”, उनले भने, “बल्लबल्ल बिक्री गरेर सकेँ । थोरै पाठापाठी हुँदा सप्रने भएकाले सहज रूपमा बिक्री हुने गरेको छ ।”
थोरै मिहिनेतबाट राम्रो आम्दानी हुने भएपछि बङ्गुरपालनबाट आफू सन्तुष्ट रहेको गुरुङको भनाइ छ । अन्य पशुपन्छी पाल्नुभन्दा बङ्गुर पाल्न धेरै सहज भएको भन्दै गुरुङले भने “बिहान बेलुका बङ्गुरलाई दाना हालिदिने हो, दिनमा एकपटक खोरमा सरर पानी हालेर सफा गरिदिन्छु, अनि दिनभरि बारीमा अन्य काम गर्दै आएको छु ।” गाईभैँसी पाल्नभन्दा बङ्गुर पाल्न सजिलो, कम खर्चिलो र आम्दानी बढी हुने गुरुङको अनुभव छ ।

विशेष सुरक्षा सल्लाहकार कार्कीले बुझे पत्र

जलवायु सम्झौतामा १.५ डिग्रीको लक्ष्यलाई लिएर राष्ट्रहरूबिच मतभेद

एक महिनामा ४१ हजार बढी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : प्रदेश प्रमुख भट्ट

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित
अरुपनि पढ्नुहोस
सबै
आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
















