छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठान: उपराष्ट्रपति यादव

नवलपुर टुडे

सारांश
- उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
- उनले यो पर्वले मानव, प्रकृति र सृष्टिसँगको गहिरो सम्बन्ध उजागर गर्दै प्रकृतिप्रति कृतज्ञता र संयमको सन्देश दिने उल्लेख गरेका छन्।
- छठको पूजामा प्रयोग हुने सामग्री र परिकारले रैथाने संस्कृति, श्रम र वातावरणीय सरसफाइप्रतिको सचेतना अभिवृद्धि गर्ने उनको भनाइ छ।

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
छठ महापर्व, २०८३ का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले हिमाल, पहाड र मधेसका जनतालाई सांस्कृतिक आत्मीयताको सूत्रमा बाँध्ने यस्ता पर्वले हाम्रो राष्ट्रिय एकता र साझा नेपाली पहिचानलाई अझ सुदृढ बनाएको बताएका छन् ।
उपराष्ट्रपति यादवले मानव, प्रकृति र सृष्टिबिचको गहिरो सम्बन्धलाई जीवन्त रूपमा अभिव्यक्त गर्ने छठ महापर्व नेपाली समाजको एक अद्वितीय सांस्कृतिक अनुष्ठान भएको बताए । उनले सूर्यलाई प्रत्यक्ष जीवनदाता तथा ऊर्जाको स्रोतका रूपमा श्रद्धापूर्वक अर्घ्य अर्पण गर्ने यस पर्वले प्रकृतिप्रति कृतज्ञता, संयम, शुचिता र समर्पणको सन्देश दिने बताए ।
उपराष्ट्रपति यादवले अस्ताउँदो सूर्यलाई सम्मानपूर्वक अर्घ्य अर्पण र नमन गर्दै उदाउँदो सूर्यको स्वागत गर्ने छठको परम्पराले जीवनका हरेक अवस्था, सङ्घर्ष र सम्भावनाप्रति समान आदर राख्न सिकाउने उल्लेख गरेका छन् । ‘नहाय–खाय’, ‘खरना (रसयारोटी)’, सन्ध्या अर्घ्य र उषा अर्घ्यका धार्मिक अनुष्ठानहरूले आत्मअनुशासन, धैर्य, श्रद्धा र आध्यात्मिक शुद्धताको अभ्यास गराउने उल्लेख गर्दै उनले बर्तालुहरूले कठिन साधना र संयमका साथ सम्पन्न गर्ने यो पर्वले इच्छाशक्ति, परिवारप्रतिको समर्पण तथा सामूहिक उत्तरदायित्वको उच्च उदाहरण प्रस्तुत गर्ने बताएका छन् ।
“छठ पूजा–आराधनाको पर्व मात्र होइन, सामाजिक समरसता र सहअस्तित्वको उत्सव पनि हो । बाँसका डाला, सुपली, माटाका भाँडा, स्थानीय फलफूल, अन्न तथा परम्परागत सामग्रीको प्रयोगले हाम्रो रैथाने ज्ञान, श्रमसंस्कृति र स्थानीय उत्पादनप्रतिको सम्मानलाई उजागर गर्दछ”, उपराष्ट्रपति यादवद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपति यादवले छठमा प्रसादका रूपमा प्रयोग गरिने विशेष परिकारहरु ठेकुवा, भुसुवा, पिरुकिया, खजुरियालगायतले रैथाने संस्कृतिको संरक्षणमा टेवा पुग्ने जनाउँदै विभिन्न समुदाय, पेसा र वर्गका मानिसको साझा सहभागिताले छठ पर्वलाई सामाजिक एकता र पारस्परिक सहयोगको जीवन्त पर्वका रूपमा स्थापित गरेको बताएका छन् । नदी, पोखरी, तलाउ र जलाशयको सरसफाइ तथा संरक्षणसँग जोडिएको छठ पर्वले वातावरणीय चेतना र प्राकृतिक स्रोतहरूको संरक्षणप्रतिको जिम्मेवारीसमेत बोध गराउने उनको भनाइ छ ।
उपराष्ट्रपति यादवले छठ पर्वले सम्पूर्ण नेपालीमा सत्य, सेवा, सदाचार, अनुशासन र सहकार्यको भावना विकास गरोस् भनी कामना गरे । उनले सूर्यदेव र छठी माताको कृपाले प्रत्येक नेपालीको जीवनमा आशा, उत्साह, स्वास्थ्य, सुख र सफलताको प्रकाश फैलियोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना


आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको शुभकामना दिँदै राष्ट्रपति पौडेलले भने– ‘सामाजिक विभेद अन्त्य गरी एकता बढाउँछ’

अमेरिकी डलरको भाउ १५१.०९ रुपैयाँ, अन्य मुद्राको विनिमयदर
अरुपनि पढ्नुहोस
सबै
बर्दिया दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड
















