आश्वासन बाँडेर जनतालाई भ्रमित पार्ने समय सकियो, अब कामको मूल्यांकन गर्ने बेला आयो : विजय यादव निर्विज

नवलपुर टुडे

सारांश
- अग्रगामी मोर्चाका युवा नेता विजय यादवले फतुवा विजयपुर नगरपालिकामा विगत १० वर्षदेखि नेतृत्व गर्दै आएको नेपाली कांग्रेससँग विकास र सुशासनको हिसाब माग गरेका छन्।
- टेण्डर बन्द रहेको अवस्थामा पनि ट्र्याक्टरमार्फत गिटी र बालुवाको अवैध कारोबार भइरहेको आरोप लगाउँदै उनले यस विषयमा पारदर्शिता अपनाउनु पर्ने बताएका छन्।
- उनले चुनावको समयमा आउने आश्वासनका भ्रममा नपर्न नगरवासीलाई आग्रह गर्दै शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

रौतहट । अग्रगामी मोर्चाका युवा नेता तथा फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव निर्विजले नेपाली कांग्रेसको करिब एक दशक लामो स्थानीय नेतृत्वमाथि प्रश्न उठाउँदै विकास, सुशासन र नगरभित्र भइरहेको गिटी–बालुवाको कारोबारबारे जनतालाई स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
शुक्रबार फतुवा विजयपुर नगरपालिका वडा नं. ६ स्थित पेटभर्वा गाउँमा स्थानीयवासीसँग आयोजित भेटघाट, अन्तरक्रिया तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै यादवले नगरपालिकामा टेण्डर बन्द रहेको भनिए पनि ट्र्याक्टरमार्फत गिटी, बालुवा तथा निर्माण सामग्रीको ओसारपसार भने नरोकिएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
उनले फतुवा र विजयपुरको बीचमा रहेको गिटी क्रसर उद्योग तथा त्यहाँ थुपारिएको गिटी, बालुवाको विषय उठाउँदै नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री जितेन्द्र यादव र नेता अरबिन्द यादवसँग सम्बन्धित क्रसर कारोबारबारे पारदर्शिता हुनुपर्ने माग गरे। टेण्डर बन्द भएको अवस्थामा पनि निर्माण सामग्रीको कारोबार कसरी भइरहेको छ भन्ने विषयमा नगरवासीले जानकारी पाउनुपर्ने उनको भनाइ थियो।
यादवले नेपाली कांग्रेसले करिब १० वर्षदेखि फतुवा विजयपुर नगरपालिकामा नेतृत्व गर्दै आए पनि नगरको विकास, शिक्षा, स्वास्थ्य, रोजगार तथा जनताको आधारभूत आवश्यकताका सवालमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको आरोप लगाए। लामो समयसम्म नेतृत्वमा रहेर पनि जनताको समस्या समाधान गर्न नसक्नेहरू अहिले पुनः गाउँगाउँमा पुगेर विभिन्न आश्वासन बाँड्दै मत मागिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
उनले चुनावको समयमा गरिने भाषण र आश्वासनभन्दा विगतमा भएका कामको मूल्यांकन गर्नु आवश्यक रहेको उल्लेख गर्दै आम नगरवासीलाई कुनै पनि भ्रमपूर्ण प्रचारमा नपरी सचेत भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे।
“करिब १० वर्षसम्म नगरको नेतृत्व गर्नेहरूले जनतालाई आफ्नो कामको हिसाब दिनुपर्छ। टेण्डर बन्द छ भनिन्छ, तर ट्र्याक्टर बन्द छैन। गिटी, बालुवाको कारोबार कसरी भइरहेको छ? जनताले यसको जवाफ खोजिरहेका छन्। अब आश्वासन होइन, कामको हिसाब दिने समय आएको छ,” यादवले भने।
उनले फतुवा विजयपुरको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राख्दै पारदर्शी, जवाफदेही र जनमुखी स्थानीय शासन आवश्यक रहेको बताए। जनताको वास्तविक समस्या समाधान गर्दै समृद्ध फतुवा विजयपुर निर्माण गर्नु आफ्नो साझा संकल्प रहेको उनको भनाइ थियो।
यसैबीच, कार्यक्रममा स्थानीयवासीसँग आपसी सद्भाव, एकता, सहकार्य तथा नगरको समग्र विकासका विषयमा अन्तरक्रिया गरिएको थियो। यादवले सम्पूर्ण नगरवासीको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै लोकआस्थाको महान् छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरे।
भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा वडा नं. २ का अध्यक्ष संजय यादव, वडा नं. ४ का वडाध्यक्ष प्रत्यासी रमाशंकर पासवान, पूर्व वडा अध्यक्ष ब्रह्मनारायण यादव, युवा नेताहरू रामकिशोर महतो, गोपाल साह, राजकिशोर साह, रंजित ठाकुर, रुदल साह, चर्चित युवा पत्रकार दीपेन्द्र रजक लगायत स्थानीय अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी स्थानीयवासीसँग नगरको वर्तमान अवस्था, विकासका सम्भावना र आगामी दिनमा गर्नुपर्ने कामका विषयमा विचार आदानप्रदान गरिएको थियो।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















