नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री राणा

रासस


काठमाडौँ, साउन २६ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।
नेपालगञ्ज-नयाँ दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
मन्त्री डा राणाले भन्नुभयो, “सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज-दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र अन्तरआबद्धता जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागि पर्नेछु ।”
उहाँले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्कलगायतमा वृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताउनुभयो । यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा राणाले नेपालगञ्जमा पनि होटललगायतका आवश्यक पर्यटन पूर्वाधारहरु बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रुपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले आज मन्त्री डा राणालाई भेटेर सो आग्रह गरेको हो ।
त्यस अवसरमा उहाँहरुले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज-नयाँ दिल्ली सिधा उडान अपरिहार्य रहेको बताउँदै यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गर्नुभएको थियो । उहाँहरुले सो विमानस्थलबाट प्रतिघण्टा छ सय यात्रुलाई सेवा दिन सकिने र यस उडानका लागि आवश्यक सबै पूर्वाधारहरु निर्माण भइसकेका जानकारी गराउनुभएको थियो ।

नाटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

आज छठको मुख्य दिन, सिरहाका पोखरीदेखि नदीसम्म सिँगारिए घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

इटालीको डोलोमाइट्स पर्वतमा भेटियो हिमयुगीन भालुको विशाल चिहान

मौलिक चाडपर्वको संरक्षण र संवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री कार्की
अरुपनि पढ्नुहोस
सबै
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

अस्ट्रेलियामा दुई छुट्टाछुट्टै सवारी दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

बक्स अफिसमा ‘रामायण’को दबदबा कायमै, विश्वभर कमाइ १२०० करोड
















