समाज

सुनवलका महाकवि देवकोटा विद्यालयका अविभावक भेला तत्काल स्थगित गर्न माग

नवलपुर टुडे
२०८१ फाल्गुन १० | मध्यान्ह ०७:११ बजे

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ स्थित रहेको महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयमा, विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर विवाद चर्किएर सतहमा आएको छ । शनिबार नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय नेतृत्वले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानाध्यापक खेमलाल शर्मा जोशीले बोलाएको अभिभावक भेला तत्काल स्थगित गर्न माग गरेका छन्।

प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस सुनवल नगर सभापति सोम बहादुर रायमाझी, नेकपा एमाले नगर अध्यक्ष मुक्ति बहादुर भण्डारी, र राप्रपा नगर अध्यक्ष दिल कुमारी बुढाथोकीले हस्ताक्षर गरेको छ । विज्ञप्तिमा सो विद्यालयका प्रधानाध्यापकको कदमलाई ‘कानूनविपरीत, छलकपटपूर्ण र जालझेलयुक्त’ भन्दै कडा आपत्ति जनाइएको छ। विज्ञप्तिमा विद्यालयमा विगतमा भएका आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिहरूलाई ढाकछोप गर्ने प्रयास गरिएको र अनुशासनहीनताको आरोपसमेत लगाएको छ ।

तीन दलले प्रधानाध्यापकलाई अराजक गतिविधि र गैरकानुनी तरिकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न खोजेको भन्दै विद्यालयको शान्तिपूर्ण वातावरण बिथोल्ने कार्य नगर्नसमेत चेतावनी दिएका छन्। विज्ञप्तिमा स्थानीय तहको निर्देशन, अदालतको आदेश, र व्यवस्थापन समितिको निर्णयलाई बेवास्ता गर्दै प्रधानाध्यापकले अभिभावक भेलाको आयोजना गरेको आरोप छ। नगर शिक्षा समितिले गत माघ २८ गते शिक्षा ऐनको दफा २४(७) अनुसार चार जना अभिभावकलाई तोकेको भए पनि प्रधानाध्यापकले मनोमानी ढंगले भेला डाकेको विज्ञप्तिमा उल्लेख छ।

स्थानिय तहका नेताहरूले विद्यालयमा भएको आर्थिक अनियमितताको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दै शैक्षिक वातावरणलाई सौहार्द्रपूर्ण बनाउन प्रधानाध्यापकलाई तत्काल विवादास्पद भेला स्थगित गर्न आग्रहसमेत गरेको उल्लेख छन्।

प्रेस विज्ञप्ति:

photo 2025 02 22 19 02 09

 

कमेन्टहरु