समाज

गायक कुमा सागरलाई गिज्याउने कमेडियनलाई कार्वाहीको माग गर्दै प्रदर्शन

नवलपुर टुडे
२०८१ फाल्गुन ८ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ, फागुन ८।  गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नभएको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार प्रदर्शन गरेको छ । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंस्थित नेवार समुदायका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

फागुन ५ मा उनीहरूले कमेडियन सजन श्रेष्ठ, उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरुद्ध उजुरी दिएका थिए । उजुरीमा नेवारी संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको थियो । श्रेष्ठले चलाएको पडकास्टमा अतिथि बनेर पुगेका अन्यले गीत गाउँदै गायक सागरलाई कटाक्ष गरेका थिए ।

अहिले उक्त भिडियो युट्युबबाट हटाइएको छ भने सजनले माफी समेत मागेका छन् । निवेदन दिएको ४८ घण्टा बितिसक्दा पनि कार्वाही नगरेको भन्दै प्रदर्शन गरिएको हो ।

‘हाम्रो मातृभाषाको लवजलाई अश्लील तथा हेय भावले प्रस्तुत गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउनेहरूलाई अहिलेसम्म पक्राउ नगरेको हुँदा पक्राउ गराउनको लागि दबाब दिएका हौँ,’ प्रदर्शनमा सहभागी एकले भने ।

कमेन्टहरु