समाज

प्रथम शहीद लखन थापा मगरलाई विभूति घोषणा गर्नुपर्ने माग

नवलपुर टुडे
२०८१ फाल्गुन २ | मध्यान्ह ०५:११ बजे

बुटवल, फागुन २ । नेपालका प्रथम शहीद लखन थापा मगरलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।

प्रथम शहीद लखन थापा मगरको १४८ औं स्मृति दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले प्रथम शहीदलाई राज्यको तर्फबाट अपमानित गर्ने कार्य भएकाले उचित सम्मानका लागि राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् ।

प्रथम शहीद लखन थापा मगर अक्षयकोष २०५६ रुपन्देही समितिका अध्यक्ष थर्क बहादुर बारघरे मगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट्रिय विभूति घोषणा गरेर लखन थापा मगरको सहादतलाई सम्मान व्यक्त गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष दल बहादुर वीरकट्टा मगरले राज्यले प्रथम शहीद मात्रै घोषणा गर्ने तर उनको स्मृतिमा राज्यको तर्फबाट कुनै पनि सम्मान जनक कार्यहरु, गतिविधि तथा कार्यक्रमहरु पनि नगर्ने कार्यले शहीदको अपमान भएको बताउनुभयो । उनले शहीद लखन थापा मगरको शालिक काठमाडौंमा रहेको शहीद गेटमा अनावरण गर्नुपर्ने, मध्य पहाडी लोकमार्गको नाम शहीद लखन थापाको नामबाट नामाकरण गरिनुपर्ने लगायतका संघले राखेका मागहरु राज्यले पुरा गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै अर्का वक्ता बुटवल उपमहानगर प्रमूख खेलराज पाण्डेयले शहीदहरुले देखाएको बाटोमा हिड्नु नै शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली र सम्मान हुने धारणा व्यक्त गर्नुभयो ।

photo 2025 02 14 17 27 29

लखन थापा मगर अक्षयकोष २०५६ रुपन्देही र नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज धनी आले, नेपाल मगर शिक्षक संघका केन्द्रीय महासचिव सूर्यविक्रम राना, संघकै लुम्विनी प्रदेश बरिष्ठ उपाध्यक्ष जनक थापा मगर, संघका तिलोत्तमा नगर अध्यक्ष लीलमाया राना मगर लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम संघका उपाध्यक्ष टेक बहादुर रेस्मी मगरको स्वागत तथा सचिव राधिका श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

राणा शासनका विरुद्ध पहिलो जनविद्रोहको आह्वानसहित प्रजातन्त्रका लागि आवाज उठाउने कार्यको अगुवाई गरेको आरोपमा लखन थापा मगरलाई तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणाले वि.स.१९३३ साल फागुन २ गते गोर्खामा खिर्राको बोटमा लट्काएर फाँसी दिएका थिए ।

photo 2025 02 14 17 27 36

कमेन्टहरु