पत्रकार ढुंगानासहित तीन जनालाई फोनिज चितवनद्वारा सम्मान


चितवन, माघ १९ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले नागरिक दैनिकका चितवन संवाददाता वसन्त ढुंगानासहित तीन जनालाई सम्मान गरेको छ । पत्रकारिता मार्फत जनजातिको आवाजलाई योगदान दिएको भन्दै फोनिजले आज (शनिवार) भरतपुरमा भएको आफ्नो दशौँ साधारणसभा तथा पाँचौँ अधिवेशनमा ढुंगानालाई सम्मान गरेको हो ।
पत्रकार ढुंगानाले चितवनमा रहेर एक दशकभन्दा बढी सक्रिय रुपमा पत्रकारिता गरिरहेका छन् । २०७० सालमा चितवनको रेडियो नारायणीबाट पत्रकारिता सुरु गरेका ढुंगानाले चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएम, कालिका एफ.एम तथा पारदर्शी दैनिकमा काम गरिसकेका छन् । ढुंगाना हाल नारायणी अनलाइनमा समेत आवद्ध छन् ।
यस्तै इच्छाकामना एफ.एमका स्टेशन म्यानेजर दान बहादुर गुरुङ र आदिवासी जनजाति पत्रकार महासंघ चितवनका निवर्तमान अध्यक्ष सन्दिप श्रेष्ठलाई पनि फोनिजले प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मानित गरेको छ । गुरुङलाई १५ वर्षदेखि रेडियोमा निरन्तर काम गरेको आधारमा र श्रेष्ठलाई संस्थाको कुशल नेतृत्व गरेको भन्दै सम्मान गरिएको हो ।























