आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

रासस


दाङ, माघ ९ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ ।
विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली पुग्न थालेका छन् । गएको मङ्सिर महिनामा मात्रै ३० भन्दा बढी यस्ता कार्यक्रममा पुगेर बाजा बजाएको अध्यक्ष कस्तुरा खड्काले बताउनुभयो ।
पुसमा पनि राजनीतिक दलका कार्यक्रम र अन्य सार्वजनिक कार्यक्रममा बाजाको माग भएको उहाँले बताउनुभयो । “पहिले–पहिले गाह्रो थियो, अहिले त ठाउँठाउँबाट हाम्रो माग भइरहेको छ । आम्दानी पनि ठीकै भएको छ ।”
एउटा कार्यक्रमको रु आठ हजारदेखि २५ हजारसम्म लिने गरेको उहाँले जानकारी दिनुभयो । कति समयसम्म बजाउने हो, त्यसका आधारमा भाडा लिने गरेको उहाँको भनाइ छ । पछिल्लो समय यस्ता बाजा लोप हुन थालेपछि आफूहरुले बाजाको संरक्षण पनि हुने, रोजगारी पनि हुने सोचेर यस पेसामा लागेको पनि अध्यक्ष खड्काले बताउनुभयो ।
“पहिले गाउँमा विवाह, व्रतबन्ध हुँदा नौमती बाजा बज्थे”, उहाँले भन्नुभयो, “तर, पछिल्लो समय बज्न छोडे, त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि यो काम थालेका हौँ ।” समूहले २०७९ सालको तिहारमा भैलो खेलेर सङ्कलन भएको रु एक लाख ४० हजारले वाद्य सामग्री खरिद गरेको हो । यस समूहमा ब्राह्मण, मगर, क्षेत्री समुदायका २५ जनाभन्दा बढी महिला आबद्ध हुनुहुन्छ ।
पञ्चेबाजा संरक्षणलाई दिगो बनाउन पनि अब आमा समूहको एउटा भवन आवश्यक परेको अध्यक्ष खड्काले बताउनुभयो । भवन निर्माणका लागि सरकारबाट सहयोगको अपेक्षा गर्दै माग गरिरहेका छौँ, उहाँले भन्नुभयो । पञ्चेबाजा बजाउने मात्रै नभई उक्त समूहले सामाजिक कार्य पनि गर्दै आएको छ । गाउँमा कसैको झैझगडा भएमा त्यो पनि मिलाउने गरेको अध्यक्ष खड्काको भनाइ छ ।
“गाउँमा झगडा भएमा मिलाइदिनु प¥यो भन्दै खासगरी दिदीबहिनीहरु आउनुहुन्छ”, उहाँले भन्नुभयो, “त्यस्ता झैझगडा पनि मिलाउने गरेका छौँ ।” घरहरुमा रङरोगन गर्ने, विवाहमा खाना खुवाउनेजस्ता कार्य पनि यस आमा समूहले गर्दै आएको छ । सधैँ चुलोचौकोमा सीमित हुने महिला पनि सामाजिक रुपमा सशक्त छन् भन्ने सन्देश दिन आफूहरुले यो कार्य गरेको उहाँको भनाइ छ । रासस

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















