माघीको तयारीमा जुटयो थारू समुदाय

नवलपुर टुडे


कैलाली, पुस २८ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दैआएको थारू समुदायका बस्तीमा यतिबेला माघी पर्वको तयारीले छपक्कै छोपेको छ । नयाँ वर्ष आरम्भका रूपमा उल्लासका साथ मनाइने यो पर्वको तयारीमा थारू समुदाय व्यस्त छ ।
माघी पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा चहलपहल बढेको छ । पर्वलाई भव्य रूपमा मनाउन घरपरिवारका सदस्य आ–आफ्नो कामको जिम्मेवारी लिएर खटिएका छन् । पुरुषहरू मासुको जोहो गर्न गाउँगाउँ धाइरहेका छन् भने महिलालाई दुना, टपरी बनाउन भ्याइनभ्याई छ ।
पर्वको तयारीका लागि विशेषगरी अन्डी धानको चामल, पिठोलगायत खाद्यान्नको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाइलगायत कार्य धमाधम भइरहेको थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटालगायत खानाका परिकार खाने चलन रहिआएकाले त्यसका लागि जुटेका छन् ।” यो पर्वमा नयाँ वर्ष शुभारम्भ हुने भएकाले नयाँ लुगा किन्न गाउँबाट सहरबजार जान थालेका छन् । रोजगारीका लागि विदेशिएकाहरू पर्व मनाउन घर फर्कन थालेका संयोजक चौधरीले बताउनुभयो ।
माघीमा पाहुना धेरै जम्मा हुने भएकाले ढिक्री, रोटीलगायत खानाका परिकार तयार गर्न महिलालाई भ्याइनभ्याई छ । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको कैलालीको गोदावरी नगरपालिका–७ फकलपुरका माधव चौधरीले बताउनुभयो ।
“गाउँमा हिजोआज बङ्गुर पाउन मुश्किल छ”, उहाँले भन्नुभयो, “केही दिनअघि गाउँमा भलमन्साको बैठक बसेर जिता (बङ्गुर) मार्ने, कस–कसको जिता मार्ने, गाउँमा नपुगेपछि कहाँबाट ल्याउने भन्ने जिम्मेवारी नै दिइएको छ ।”
माघीको तयारीका लागि एक महिनाअघिदेखि नै अण्डीको रोटी, ढिक्रीका लागि पिठो जोहो गर्ने, सिद्रा जोहो गर्ने, जिता (बङ्गुर) खोज्ने लगायत कार्य सुरु भएको चौधरीको भनाइ छ । उहाँले थारू जातिको संस्कृति झल्कने मघौटा नाचको तयारी पनि अहिलेदेखि नै सुरु भएको बताउनुभयो ।
“माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाई गरी आफूभन्दा ठुलाबाट आर्शीवाद लिने चलनछ”, चौधरीले भन्नुभयो, ‘आर्शीवाद लिइसकेपछि घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायत खाद्यान्न छुने तथा छुट्याइएका ती चिजहरूमा थप परिकार थपेर घरका छोरीबेटीलाई दिने परम्परा रहिआएको छ ।”
माघीमा विषेशगरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुङ्गुरको मासु, माछा, गङ्गटालगायत स्थानीय खानाका पकवान खाने चलन छ । थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । त्यस्तै माघी मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको समेत आयोजना गरिएको छ ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















