गौर नगरपालिकाका नगरप्रमुख साहद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण


गौर, पुस १० । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गौर नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० का सम्पूर्ण विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका छन्। यस कदमले विद्यार्थीहरूको पठनपाठनमा थप प्रेरणा र सहजीकरण हुने विश्वास व्यक्त गरिएको छ।
नगरपालिकाको शिक्षाको गुणस्तर वृद्धि गर्ने लक्ष्यअनुरूप यो कार्यक्रम सुरु गरिएको हो। बैग वितरण कार्यक्रममा नगरप्रमुख साहले भने, “हामीले हाम्रो विद्यार्थीहरूलाई शिक्षामा प्रोत्साहित गर्न आवश्यक आधारभूत सामग्री उपलब्ध गराउनुपर्छ। शिक्षाको विकास बिना नगरको समग्र विकास असम्भव छ।”
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, वि.व्य.स.का अध्यक्ष, वडा अध्यक्ष, शिक्षक, अभिभावक, र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। अभिभावकहरूले यस कदमको स्वागत गर्दै विद्यार्थीहरूको पठनपाठनमा थप सुधार हुने अपेक्षा व्यक्त गरे।

नगरपालिकाले आगामी दिनमा पनि विद्यार्थीहरूलाई थप सहयोग पुर्याउने योजना बनाएको छ। शिक्षा क्षेत्रको सुधारमा यस प्रकारका प्रयासले गौर नगरपालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ। कार्यक्रम अहिले सम्म वडा न. २, ४, ६, ७, ८ र ९ स्थितका बिधालयहरुमा सम्पन्न भैसकेको र अन्य बाकी बिधालयहरु भोलि देखि हुने नगरप्रमुख साहले बताएका छन ।























