समाज

सुस्ता गाउँपालिकाद्वारा प्लास्टिकको माला प्रयोगमा रोक

नवलपुर टुडे
२०८१ कार्तिक १२ | मध्यान्ह ०४:०७ बजे

नवलपरासी, कार्तिक १२ । नवलपरासीको सुस्ता गाउँपालिकाले तिहारमा प्लास्टिकजन्य फुलगुच्छा तथा मालाको बिक्री वितरण प्रयोग गर्न रोक लगाएको छ। पालिकाले एक सूचना जारी गर्दै स्थानीय फूल मालाको प्रयोगमा जोड दिएको हो।

प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ प्लास्टिकजन्य फूल मालाको प्रयोगले वातावरण प्रदूषणका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने र यहाँका स्थानीय कृषकद्वारा उत्पादित फूलले बजार नपाउने भएकाले प्लास्टिकजन्य मालाको बिक्री वितरणमा रोक लगाइएको हो।

वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उप दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्लास्टिक जन्य सामानका फुलगुच्छा, मालाको भण्डारण, बिक्री वितरण, आयात र प्रयोगमा रोक लगाइएको प्रमुख प्रशासकीय हुललाल भुसालले बताए। साथै सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गरी स्थानीय रुपमा उत्पादित फूलको बजारीकरणमा सहयोग गर्दै ठूलो धनराशि बाहिरिन रोक्नुपर्नेमा जोड दिइएको छ।

पालिकाको सूचनाको बेवास्ता गरी प्लास्टिकजन्य सामग्रीको प्रयोग तथा बिक्री वितरण गरेको पाइएमा उक्त सामान जफत गरी कानुन बमोजिम जरिवाना हुने चेतावनी दिएको छ। वातावरणमैत्री र स्थानीय उत्पादनलाई समेत प्रवर्द्धन हुने भएकाले प्राकृतिक रुपमा उत्पादित पुस्पगुच्छाको प्रयोग गर्न भुसालले सबैमा आग्रह गरेका छन्।

photo 2024 10 28 16 22 32

कमेन्टहरु