अर्थ, समाज

कोच राजवंशी समाज युएईद्वारा दिवंगत विद्यानन्द राजवंशीको परिवारलाई आर्थिक सहयोग

नवलपुर टुडे
२०८१ कार्तिक १० | बिहान ०९:०७ बजे

विराटनगर । हालै कोच राजवंशी समाज युएईले आर्थिक कठिनाइको सामना गरिरहेका मोरङ जिल्लाको सुनबर्सी नगरपालिका निवासी श्री विद्यानन्द राजवंशीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। राजवंशी, जो तीन सन्तान र परिवारको लालनपालनको लागि केही महिनाअघि मात्र युएई गएका थिए, दुवईको जावेलअलि क्षेत्रमा एक निर्माण कम्पनीमा कार्यरत थिए। दुर्भाग्यवश, खाना ब्रेकको क्रममा आराम गरिरहँदा उनी आकस्मिक सधैंका लागि निदाए।

उक्त दुःखद खबर पाउना साथ, कोच राजवंशी समाज युएईका अध्यक्ष भरत राजवंशी र सचिव कविराज राजवंशीले तत्काल पहल गरि, गैरआवासीय नेपाली संघ एनआरएन एनसीसीका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद आर्यालसँग सहकार्य गर्दै, नेपाल एम्बेसीको सहयोगमा स्व. विद्यानन्द राजवंशीको शव नेपाल पठाउन आवश्यक सबै प्रक्रिया छिटो पूरा गरियो।

कोच राजवंशी समाज युएईले दिवंगतको परिवारको दुःखमा थोरै भएपनि आर्थिक सहयोग पुर्याउने उद्देश्यले नेपाली रुपैयाँ ५०,०००/- आर्थिक सहयोग हस्तान्तरण गरेको छ। यो सहयोग रकम स्व. विद्यानन्द राजवंशीकी श्रीमती सुनिता कुमारी राजवंशीलाई २०८१ साल कार्तिक ९ गते (२५ अक्टोबर २०२४) मा कोच राजवंशी समाज युएईका प्रतिनिधि दिलीप राजवंशीद्वारा प्रदान गरियो।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा कोच राजवंशी समाज युएईका अन्य सदस्यहरु भरत राजवंशी, कविराज राजवंशी, पुनम राजवंशी, फाल्तु लाल राजवंशी, ममता राजवंशी, अर्जुन राजवंशी, सबिना राजवंशी, सरस्ती राजवंशी, कमल राजवंशी, दिलीप राजवंशी, मेनुका राजवंशी, प्रेम राजवंशी, निशा राजवंशी, लगायतका परिवारले सहभागीता जनाएका थिए।

स्व. विद्यानन्द राजवंशीको परिवारको यो पीडामा कोच राजवंशी समाज युएईका सदस्यहरुको सहानुभूति र सहयोगले केही राहत मिल्ने विश्वास गरिएको छ।

photo 2024 10 26 09 53 01

कमेन्टहरु