बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

नवलपुर टुडे

सारांश
- म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित बैसरी–रिसिनचौतारी सडकको स्तरोन्नति तथा कालोपत्रे र ग्राभेल गर्ने काम सुरु गरिएको छ।
- तीन करोड ३५ लाखभन्दा बढीको लागतमा सञ्चालित यस योजनाअन्तर्गत सडक फराकिलो बनाउने, ढलान गर्ने र पर्खाल निर्माण गर्ने काम भइरहेको छ।
- यो सडक स्थानीय बासिन्दाको आवागमन सहज बनाउनुका साथै कालीगण्डकी करिडोरको वैकल्पिक मार्गको रूपमा विकास हुनेछ।

म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ स्थित बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ ।
पूर्वाधार विकास कार्यालयले जैसीखोर–खहरेखोला–रिसिनचौतारी सडक योजनाअन्तर्गत बैसरी–रिसिनचौतारी खण्ड स्तरोन्नति गर्न लागेको हो । सडक फराकिलो पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, टेवा पर्खाल तथा नाली निर्माण गर्ने र ग्राभेल तथा ढलान गर्ने काम योजनामा समेटिएको छ ।
रु तीन करोड ३५ लाख छ हजार ४८० लागतमा निर्माण सम्पन्न गर्ने गरी गत साउन ४ गते अङ्कित एन्ड जेनिशा साहना जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ साउन ४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार एक हजार ८०० मिटर सडक नालीसहित छ मिटर चौडा बनाइनेछ । त्यसमध्ये ६१० मिटर सडक ढलान र एक हजार १९० मिटर ग्राभेल गरिनेछ । योजनाअन्तर्गत ९९० घनमिटर ग्याबियन पर्खाल र एक हजार ६४९ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिनेछ ।
निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले पहिलो चरणमा एक हजार २०० मिटर सडक फराकिलो पार्ने काम सम्पन्न भएको जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले तीन महिनाभित्र काम सक्ने लक्ष्यसहित उपकरण परिचालन गरेको छ । लक्ष्यअनुसार काम सम्पन्न गर्न थप मजदुर र निर्माण सामग्रीको व्यवस्थापन गरिने उनले बताए ।
यो सडकले रघुगङ्गा गाउँपालिका–२ र ३ लाई कालीगण्डकी करिडोरसँग जोड्छ । कालीगण्डकी करिडोरको घुमाउनेताल–बैसरी खण्डको वैकल्पिक मार्गका रूपमा विकास गर्ने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले योजना सञ्चालन गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण
अरुपनि पढ्नुहोस
सबै

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य

छठको मौलिकपनमा कमी आए पनि रौनक वृद्धि
















