Opens in a new tab

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

नवलपुर टुडे

399Shares

सारांश

  • काभ्रेपलान्चोकको नमोबुद्धमा गौतम बुद्धको पूर्वजन्मको त्यागको स्मरण गर्दै तीन दिने ऐतिहासिक तथा धार्मिक जात्रा सोमबारदेखि सुरु हुँदैछ।
  • मेलाको पहिलो रात पितृको सम्झनामा दीप प्रज्वलन गर्ने परम्परा रहेको छ भने यस जात्रामा स्वदेश तथा विदेशबाट हजारौँ भक्तजनहरू सहभागी हुने गरेका छन्।
  • राजकुमारले बघिनीलाई शरीर अर्पण गरेको यो स्थल करुणा, परोपकार र बौद्ध धार्मिक पर्यटनका दृष्टिले एक महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ।
dida bag ad

काभ्रेपलान्चोक । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा काभ्रेपलान्चोकको नमोबुद्धमा लाग्ने तीन दिने जात्रा यस वर्ष सोमबारदेखि सुरु हुँदैछ । गौतम बुद्धको पूर्वजन्ममा एक राजकुमारले भोकले छटपटिएकी बघिनी र उनका डमरुलाई आफ्नो शरीर अर्पण गरी जीवनदान दिएको किंवदन्तीसँग जोडिएको यो जात्रा करुणा र परोपकारको सन्देश दिने धार्मिक मेलाका रूपमा परिचित छ ।

नमोबुद्ध नगरपालिका–११ मा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थलमा कात्तिक शुक्ल चतुर्दशीदेखि पूर्णिमा हुँदै प्रतिपदासम्म तीन दिन मेला लाग्ने परम्परा छ । मेलामा स्वदेश तथा विदेशका बौद्ध धर्मावलम्बी सहभागी हुने गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष करिब ५० हजार भक्तजनले नमोबुद्धको दर्शन तथा पूजाअर्चना गर्ने गरेका छन् ।

किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमारले गन्धमान पर्वतको जङ्गलमा भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखेपछि आफ्नो शरीरको मासु काटेर खुवाएका थिए । अन्ततः उनले आफ्नो देहत्याग गरी बघिनी र डमरुको जीवन बचाएका थिए । यही घटनाको स्मरणमा नमोबुद्धमा प्रत्येक वर्ष मेला लाग्ने गरेको नमोबुद्धका मूल लामा गुरु कान्छा लामाले बताए ।

लामाका अनुसार राजकुमारले जीवनदान दिएको स्थानमा पूजा तथा दीप प्रज्वलन गर्ने परम्परा छ । बघिनीलाई लक्ष्मी र उनका पाँच डमरुलाई भिक्षुका रूपमा मान्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो । राजकुमारको देह त्यागपछि राजा र रानीले पनि सोही स्थानमा बाँकी जीवन चैत्यसेवामा बिताएको किंवदन्ती छ । उनीहरू शङ्खेश्वरी अजि–अजिमाका नामले समेत परिचित रहेको लामाको भनाइ छ ।

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो रातभर पितृको सम्झनामा दीप प्रज्वलन गरिन्छ । रातभर बत्ती बाल्दा पितृलाई वर्षभरि उज्यालो हुने धार्मिक विश्वासका आधारमा यो परम्परा चलिआएको उहाँले बताउनुभयो । जात्राका क्रममा परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिन्छ ।

विशेषगरी तामाङ र नेवार समुदायका भक्तजनको सहभागिता रहने मेलामा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ र नुवाकोटलगायत जिल्लाबाट श्रद्धालु आउने गरेका छन् । स्थानीय राकेश लामाका अनुसार नमोबुद्धमा वर्षभरि नै स्वदेशी तथा विदेशी बौद्ध धर्मावलम्बीको चहलपहल रहने गरेको छ ।

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत कृष्ण द्वादशीमा पनि मेला लाग्ने गर्दछ । भाद्र कृष्ण द्वादशीका दिन नमोबुद्धको खट पनौतीस्थित राजदरबारमा ल्याई दुई दीपङ्कर बुद्ध र अजि–अजिमासहित जात्रा गर्ने परम्परा छ । राजकुमारको जन्मघर पनौतीस्थित तलेजु भवानी मन्दिरनजिक रहेको काशीवर्ण महावीरलाई मानिन्छ ।

गन्धमान पर्वतको टुप्पोमा राजकुमारको अस्थिपञ्जर सङ्कलन गरी स्तूप ९चैत्य० निर्माण गरिएको अभिलेख संवत् ९७४ को रहेको बताइन्छ । पर्वतमा राजकुमारले बघिनीलाई आफ्नो शरीरको मासु खुवाइरहेको दृश्य कुँदिएको मूर्ति पनि स्थापना गरिएको छ ।

नमोबुद्ध क्षेत्रमा विशाल गुम्बा, मन्दिर, चैत्य र ढुङ्गाबाट निर्मित बुद्धका मूर्ति छन् । यहाँका गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालनमा छ । पनौतीबाट शङ्खु उपत्यका हुँदै तथा धुलिखेलबाट पदयात्रा गरेर नमोबुद्ध पुग्न सकिन्छ ।

काठमाडौँबाट करिब ३२ किलोमिटर पूर्व र धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा रहेको नमोबुद्ध धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य हो । यहाँबाट पनौतीका हरियाली बस्ती तथा पूर्व र उत्तरतर्फका हिमशृङ्खला र पहाडी भूभागको दृश्यावलोकन गर्न सकिन्छ ।