समाज

बुलिङटार-३ टाँडीका एकै घरका दिदीभाई कहिल्यै नफर्कने गरी अस्ताए…

नवलपुर टुडे
२०८१ कार्तिक ४ | मध्यान्ह ०६:०७ बजे
मृतक दिदिभाई पवित्रा मश्रांगी र पवन मश्रांगी

नवलपुर, कार्तिक ४ । शनिबार कावासोती बालुवा डाँडा जिप दुर्घटनामा दशैं मानेर गाउँबाट कावासोती फर्किँदै गरेका पवित्रा र पवन दिदिभाईको दुर्घटनामा ज्यान हुमाए । दशै मानेर फर्केका यी दिदिभाईको लागि यसपटकको दशैं अन्तिम दशैं बनेको छ । पवित्रा मश्रांगी र पवन मश्रांगी दिदिभाई उनीहरु बुलिङटार- ३ टाँडीका स्थायी बासिन्दा हुन ।

दशैं अगाडि क्याम्पस र विद्यालयबाट फेरि भेट हुने बाचासहित गाउँ गएका पवित्रा र पवनले आफ्ना सहपाठीहरुसँग पुनः भेट्न पाएनन् । उनीहरुका लागि दशै अगाडि सहपाठीहरुसंगको भेट अन्तिम बन्यो । मध्यविन्दु बहुमुखी क्याम्पसमा स्नातक दोस्रो सेमेस्टरमा अध्ययनरत २१ वर्षीया दिदी पवित्रा र कावासोतीकै समता शिक्षा निकेतनको कक्षा ९ मा अध्यानरत १८ वर्षीय भाई पवन दशैं बिदापछि कलेज र स्कुल हाजिर हुनका लागि घरबाट कावासोती हिँडेका थिए ।

तर, विडम्बना दुवैजना कहिल्यै कलेज र स्कुल जान नपाउने गरी सदाका लागि यस संसारबाट विदा भए । जिप दुर्घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा तिव्र गति र क्षमता भन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुन सक्ने नवलपुर प्रहरीले बताएको छ ।

बुलिङटार गाउँपालिका- २ टाँडीबाट सदरमुकाम कावासोती यात्रु लिएर हिंडेका बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिपमा ३४ जना यात्रु रहेकोमा यी मध्ये यी दुई दिदीभाईले ज्यान गुमाएका छन् भने अन्य ३२ जना घाइते भएको छ । ७ सिट क्षमता भएको बोलेरो जिपमा अत्याधिक यात्रुहरु रहेकोले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

जिपमा अधिकांश दशै मानेर गाउँबाट कावासोती फर्केकाहरु थिए । घटनामा अन्य २ जना गम्भीर घाइते भएका छन् भने २७ जना विभिन्न अस्पतालमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएका छन ।

कमेन्टहरु