समाज

जनकपुरधामसहित मिथिलाञ्चलमा आज चौरचन पर्व मनाइँदै

नवलपुर टुडे
२०८१ भदौ २१ | मध्यान्ह ०४:०५ बजे

जनकपुरधाम । जनकपुरधाम सहित मिथिलाञ्चल क्षेत्रमा आज धुमधामका साथ आस्था तथा निष्ठापूर्वक मनाईने महान पर्व चौरचन मनाईदै छ। जनकपुरधाम सहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत चौरचन पर्व मनाईन्छ। हिन्दु धर्मावलम्बी समुदायका व्यक्तिहरुले यस पर्वलाई विशेष महत्वको साथ मनाउने गरिन्छ।

आज राति ब्रतालु महिलाहरु आ–आफ्नो घरको आँगनमा पूजा सामग्री चढाएर उदाउँदै गरेको चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउँछन्। यस पर्वको अवसरमा आज जनकपुरधाम उपमहागरपालिकासहित केही स्थानीय तहले आ आफ्नो नगर क्षेत्रमा सार्वजनिक बिदा समेत दिएको छ।

मिथिलाञ्चल क्षेत्रमा मनाईने पर्वहरुमा अधिकांशमा स्थानिय स्तरमा उत्पादन हुने सामाग्रीहरुको प्रयोग भएको हुन्छ। यहाँ मनमा रहेको विभिन्न भाकल पुरा गर्न तराई मधेशका मानिसहरु मनाउने चौरचन, दिपावली, घडी पर्व, जितिया, छठ पर्व लगायतका विभिन्न पर्वहरु विभिन्न महिनामा मनाउने गरिन्छ।

मिथिलाञ्चलको कृषि आधारित जीवन चक्रले सालको बाह्रौ महिनामा आउने यस्ता लोक पर्वहरुलाई बडो सहजता साथ स्वीकार गरी घर–परिवार सपार्न निष्ठाको प्रदर्शन गर्दै प्रशन्नता बटुुल्ने सत्प्रयास गर्दै समयको अन्तरालमा सामयिक परिवर्तन साथ यसको मौलिक अवधारणालाई कायम राख्दै पर्वको निरन्तरता कायम राखेका छन्।

भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्टान्न परिकार चन्द्रमालाई देखाएर चौरचन ब्रत समापन गर्ने मैथिल परम्परा छ।

घरको आँगनमा गाईको गोबर वा चिकनी माटोले लिपेर त्यसमा चामलको पिठोबाट बनाईएको अरिपनमा पूजाको सामग्रीहरु नयाँ माटोको भाँडोमा जमाइएका दही, मिठाइ, नरिवल, केरा, पुरीलगायतका सामग्री लाई राखेर पूजा गरिन्छ।

चौंठचनको पूजामा मुख्य भूमिका निर्वाह गर्ने व्यक्ति उपवासमा बस्छन्। खासगरी खीर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसम अनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद खुवाएपछि यो पर्व सम्पन्न हुनेछ। यो पर्व खासगरी मैथिली समुदाय र थारू जातिमा मनाइने गरिएको छ।

कमेन्टहरु