अर्थ

कपिलवस्तुको चन्द्रौटामा ग्रिन च्याकपट क्यासिनो सञ्चालन

नवलपुर टुडे
२०८१ साउन १६ | मध्यान्ह १२:०४ बजे

 

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटास्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा बुधबारबाट ग्रिन ज्याकपट क्यासिनो सञ्चालनमा आएको छ ।  कपिलवस्तुमा सञ्चालनमा आएको यो पहिलो क्यासिनो पनि हो । भारतीय ग्राहक लक्षित गरेर क्यासिनो सञ्चालनमा ल्याइएको हो ।

भारतसित जोडिएको प्रमुख सीमा नाका कृष्णनगरबाट २० किलोमिटर उत्तर चन्द्रौटामा सञ्चालनमा रहेको चारतारे सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टमा आकर्षक गेमिङ सुविधासहित क्यासिनो सञ्चालनमा आएको हो । यसले अब कृष्णनगर लगायत नाका भएर क्यासिनो खेल्न आउने भारतीय पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने सञ्चालकले जनाए ।

एक अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको उक्त रिसोर्टमा आधिकारिक रूपमा बुधबारबाट क्यासिनो पनि सञ्चालनमा आएको हो । प्रत्यक्ष ५ सय र अप्रत्यक्ष एक हजार जनालाई रोजगारी उपलब्ध गराउने गरी १५ करोड रुपैयाँ लगानीमा क्यासिनो सञ्चालनमा ल्याइएको क्यासिनोका अध्यक्ष राजकुमार भट्टराईले जानकारी दिए । क्यासिनोका म्यानेजिङ डाइरेन्टर राजीव आचार्यले प्रतिदिन ५ सय भारतीय पर्यटकलाई सेवा दिने गरी क्यासिनो सञ्चालनमा आएको जनाए ।

चन्द्रौटा र कृष्णनगरलाई पर्यटकीय हबका रूपमा विकास गर्न सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले क्यासिनो सञ्चालनमा ल्याएको आचार्यले बताए । यहाँ क्यासिनो सञ्चालनमा आएसँगै कृष्णनगरबाट मुलुक भित्रिने पर्यटकले अब गेमिङका लागि लुम्बिनी, भैरहवा र नेपालगन्ज सहर जानुपर्ने बाध्यता अन्त्य भएको उनले बताए ।

कमेन्टहरु