विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

नवलपुर टुडे

सारांश
- कतार र कुवेतमा १८ वर्ष बिताएर स्वदेश फर्कनुभएका मीनबहादुर क्षेत्रीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा विगत आठ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आउनुभएको छ।
- उहाँले गोठका भैँसीको दूधबाट घ्यू उत्पादन गरी सिदिङ गाउँका साथै मर्दी हिमाल पदयात्रा मार्गका पर्यटकहरूलाई बिक्री गर्ने गर्नुभएको छ।
- घ्यू र पशुपन्छीको खरिदबिक्रीबाट सबै खर्च कटाएर वार्षिक करिब तीन लाख रुपैयाँ बचत गर्नुका साथै उहाँले यसै पेशाबाट परिवारको लालनपालन गर्दै आउनुभएको छ।

कास्की । कतार र कुवेतमा १८ वर्ष बिताउनुभएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाएका हुन् ।
विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपरेको अनुभवले उनलाई स्वदेशमै केही गर्ने प्रेरणा मिल्यो । अहिले परिवारसँगै बसेर आफ्नै पेसा गर्न पाउँदा उनी सन्तुष्ट छन् । उनको गोठमा अहिले १६ वटा भैँसी छन् । तीमध्ये पाँच वटा दुहुना छन् ।
क्षेत्रीले दूध बिक्री गर्नुको सट्टा दही जमाएर मोही पार्ने र घ्यू उत्पादन गरी बिक्री गर्दै आएका छन् । पाँच दिनको दूधबाट चार लिटर घ्यू उत्पादन हुने उनले बताए । उत्पादित घ्यू प्रतिलिटर रु एक हजार ५०० मा बिक्री हुन्छ ।
उनले उत्पादन गरेको घ्यू सिदिङमा मात्र नभई मर्दी हिमाल पदयात्रा मार्गका लो क्याम्प र फरेष्ट क्याम्पसम्म पुर्याएर पर्यटकलाई पनि बिक्री गर्छन् । पदयात्रामा आउने पर्यटकसम्म स्थानीय उत्पादन पुर्याउन सकेपछि बजारको समस्या नरहेको उनको अनुभव छ ।
भैँसीपालनका लागि उनले स्थानीय चरन क्षेत्रको उपयोग गर्दै आएका छन् । दूध दिने भैँसीलाई गोठमा बाँधेर राख्ने र दूध दिन छाडेका भैँसीलाई लेकतिर चराउन लैजाने गरेका छन् । सिदिङदेखि कालीमाटीमाथिको लेकसम्म भैँसी चराउन लैजाँदा घाँस, दाना र परालको खर्च कम हुने उनी बताउँछन् । “दूध दिने भैँसीलाई गोठमै बाँध्ने हो, दूध दिन छाडेकालाई लेकतिर चराउन लैजाने हो । यसबाट घाँस, दाना र परालको खर्च कम हुन्छ,” उनले भने ।
घ्यू उत्पादनसँगै क्षेत्रीले राँगा तथा भैँसीको खरिदबिक्री पनि गर्दै आएका छन् । राम्रो दूध दिने भैँसीको मूल्य रु एक लाखसम्म पर्ने उनले बताए । घ्यू र भैँसीको बिक्रीबाट घर खर्च कटाएर वार्षिक करिब रु तीन लाख बचत हुने गरेको उनको भनाइ छ ।
भैँसीपालनमा परिवारको साथ र सहयोगले व्यवसायलाई निरन्तरता दिन सहज भएको उनी बताउँछन् । उनले छोरीलाई स्नातक तहसम्म अध्ययन गराएका छन् । छोरी अहिले जापानमा हुनुहुन्छ भने दुई छोरा कक्षा ९ मा अध्ययनरत छन् ।
विदेशमा आर्जन गरेको अनुभव र मेहनत आफ्नै गाउँमा उपयोग गर्न सके आम्दानीका लागि विदेश नै जानुपर्ने बाध्यता नहुने उनको अनुभव छ । गाउँको लेकाली वातावरणमा पशुपालन गर्दै परिवारसँगै बस्न पाउँदा आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज
अरुपनि पढ्नुहोस
सबै
राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण


प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्यो आन्दोलनको घोषणा

लुम्बिनीविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्यो १०६ रनको सामान्य लक्ष्य
















