विजयनगर गाउँपालिकामा छोरीका नाममा बैंक खाता, ३ वर्षमा १ सय ६३ छोरीका नाममा २४ लाख ४५ हजार रुपैयाँ जम्मा

नवलपुर टुडे


कपिलवस्तु । विजयनगर गाउँपालिका–६ बद्धोरकी रिना लोधकी एक वर्षीया छोरी शिवांगीको खातामा अहिले २१ हजार रुपैयाँ जम्मा भइसकेको छ । छोरीको खातामा यसै गरी बचत गर्न सके पढाइ र बिहेवारीका लागि सहज हुने आशले रिना खुसी छिन् । ‘घर खर्च जोगाएर ६ हजार बचाएकी थिएँ, गाउँपालिकाले १५ हजार जम्मा गरिदियो । अब छोरीका नाममा २१ हजार बचत भएको छ,’ उनले भनिन्, ‘साँझ–बिहानको चुलोचौकोमै व्यस्त हुँदा बचत गर्न सकिने अवस्था थिएन । गाउँपालिकाले सुरुआत गरिदिएपछि सानै रकम भए पनि थप्न सजिलो भयो ।’
विजयनगर–६ जुटपनियाकी सादिया खातुन १० महिनाकी छोरी हदिसुन निशाका नामका २० हजार बचत पुग्दा दंग छिन् । ‘ऋणगर्जो गरेर ५ हजार जम्मा गरें, गाउँपालिकाले १५ हजार जम्मा गरिदिएको छ,’ उनले भनिन्, ‘हामीजस्ता समस्या हुनेका लागि यो रकम बरदान नै हो । यसले छोरीलाई ठूलो कक्षामा पढाउन सहयोग पुग्ला ।’
विजयनगर गाउँपालिकाले छोरीप्रति सम्मान र विश्वास बढाउन ‘छोरी बचाऔं, छोरी पढाऔं’ कार्यक्रमअन्तर्गत पहिलो जन्मने सन्तान छोरीका नाममा बैंक खाता खोलेर १५ हजार जम्मा गरिरहेको हो । पालिकाले छोरीको नाममा १५ हजार राख्दा परिवारले पनि कम्तीमा ५ हजार रुपैयाँ थप गरेर जम्मा गर्नुपर्ने हुन्छ । अभिभावकले बीचमा पनि बचत थप्न सक्ने छन् । अभिभावक संरक्षक भई छोरीकै नाममा हुने उक्त खाताबाट १८ वर्षपछि मात्रै रकम झिक्न पाइनेछ । १८ वर्षपछि उक्त रकम करिब १ लाख पुग्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । त्यसले छोरीको उच्च शिक्षा पढाउन र विहेबारीमा राम्रो सहयोग पुग्ने भएकाले पालिकाले ०७८ मा नीति कार्यक्रममार्फत बजेट विनियोजन गरेर सञ्चालन गरिरहेको अध्यक्ष थापाले बताए ।
०७८/७९ मा ३३ जना, ०७९/८० मा ७४ र ०८/८१ मा ५६ जना छोरीका नाममा गाउँपालिकाले जनही १५ हजार रुपैयाँ दिएर खाता संचालन गरेको छ । यो कार्यक्रममार्फत ३ वर्षमा १ सय ६३ छोरीका नाममा २४ लाख ४५ हजार रुपैयाँ जम्मा गरेको गाउँपालिकाले जनाएको छ । यसका लागि गर्भवती महिलाले ४ पटक स्वास्थ्य परीक्षण गराउनुपर्ने, बर्थिङ सेन्टर वा सरकारी मान्यता प्राप्त संस्थामा सुत्केरी गराउनु पर्ने र जन्मेको ३५ दिनभित्र जन्मदर्ता बनाउनु पर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताए । विवाह दर्तादेखि गर्भवती र सुत्केरी अवस्थाका सबै परीक्षणसहित बच्चालाई नियमित खोप पनि लगाएको हुनु पर्नेछ,’ रिजालले भने ।
छोरी भएको थाहा पाउँदा गर्भपतन गर्ने, सानै उमेरमा विवाह गराइदिने र जन्मदर्ता नगराउनेलगायतका धेरै समस्या समाधान गर्न यस्ता कार्यक्रम सहयोगी बन्दै गएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी चौधरीले बताइन् ।
गर्भावस्थाका बेला स्वास्थ्य परीक्षण नगराउँदा गर्भवतीको अवस्था जटिल हुने, जन्मदर्ता नहुँदा महिलाको नागरिकता नबनाई दिने र महिला हिंसा न्यूनीकरणमा पनि सहयोग गरेकाले यो कार्यक्रम प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष थापाले बताए ।
अहिले पालिकाभित्रका आधाजसो छोरी मात्र विद्यालयको पहुँचमा रहेको तथ्यांक छ । यो पालिकामा बालविवाहको समस्या पनि छ । विवाह र जन्मदर्ता, स्वास्थ्य संस्थामा बच्चा जन्माउने र नियमित चेकजाँच गराउने काम निकै कमले गरेको देखिएपछि यो कार्यक्रमले अवस्था सुधारोन्मुख रहेको उनले बताए । ‘तत्कालै यसको नतिजा कम देखिए पनि बिस्तारै सकारात्मक प्रभाव पर्दै जानेछ,’ अध्यक्ष थापाले भने, ‘यसले लैंगिक विभेद र गलत संस्कार हटाउन पनि सहयोग पुगेको छ ।’

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई नौ लाख आम्दानी

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

बैसरी–रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

झापाको चिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव
अरुपनि पढ्नुहोस
सबै
नमोबुद्ध जात्रा: करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

हुलाकी सडकले फेरिएको राप्तीपारिको मुहार, आधा घण्टामै पुगिन्छ नेपालगञ्ज

राष्ट्र बैङ्कद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

















