अपराध, अर्थ

चितवनका सहकारी संस्थाका पीडितले न्याय खोज्दै ओलीलाई भेटे

नवलपुर टुडे
२०८१ जेष्ठ २५ | मध्यान्ह ०७:०२ बजे

चितवन, जेठ २५ । साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाका पीडितहरुले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन केपी शर्मा ओलीलाई अनुरोध गरेका छन् । सहकारीका अध्यक्ष जिबी राईसहित ११ जना विरुद्ध पक्राउ पुर्जि जारीभएपनि सरकारले उनीहरूलाई पक्राउ गर्न चासो नदिएको पनि बताएका छन् ।‘बचत कर्तालाई गास, बास, कपासको समस्यामा पारी सबै ठगहरु फरार भएका छन् । 

प्रहरीमा ११ जना विरुद्ध पक्राउ पुर्जि काटेको ८ महिना भइसक्यो । हालसम्म एक व्यक्ति पनि पक्राउ परेका छैनन्,’ ओलीलाई दिइएको ज्ञापनपत्रमा भनिएको छ ‘अति महत्वपूर्ण कागजात बरामद भएपनि छानविन रोकेर राखिएको छ ।’ जिबि ग्रुप विभिन्न कम्पनीलाई हालेको मुद्दा जिल्ला प्रहरी कार्यालय चितवनले पाँच पुस्ते बाहना बनाई काम अगाडि नबढाएको भन्दै उनीहरुले न्यायका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

सहकारीमा आठ हजार भन्दा बढी पीडित छन् । जसमा ८४ करोड रकम हिनामिना भएको साहारा सहकारी पीडित संघर्ष समिति चितवनले बताएको छ । यो रकम जिबि ग्रुपका कम्पनीमा मात्र ५० देखि ६० करोड गएको छ । करिब १२ करोड रुपैयाँ गोरखा मिडिया गु्रपमा समेत गएको छ । ज्ञापनपत्र बुझ्दै ओलीले सहकारी पीडितको समस्यालाई समाधान गर्न सदन र सरकारमा समेत आवाज उठाउने बताएको संघर्ष समितिका संयोजक शालिराम दुवाडीले बताए ।

पीडितहरुले शुक्रबार चितवन आएका ओलीलाई भरतपुर विमान स्थलमा भेटेर ज्ञापन पत्र बुझाउँदै उनीहरुले बचत फिर्ताको वातावरण बनाइदिन अनुरोध गरेका हुन् । यसअघि पनि ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका सहकारी पीडितले प्रधानमन्त्री तथा गृहमन्त्रीलाई पटक पटक ज्ञापनपत्र बुझाएका छन् ।

 
 

कमेन्टहरु