राजनीति

सहकारी ठगीविरुद्ध आज कांग्रेसले काठमाडौमा विरोध प्रदर्शन गर्दै

नवलपुर टुडे
२०८१ जेष्ठ १३ | बिहान ०८:०२ बजे

काठमाडौँ, जेठ १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज विरोध प्रदर्शन गर्दै छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसहित सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै कांग्रेसले आज विरोध प्रदर्शन गर्न लागेको हो ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पहिलो चरणमा काठमाडौँ उपत्यकाको तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुसार १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटिएका छन् ।

आज दिउँसो १ बजे काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमलाई भव्य बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरेका छन् ।

सहकारीको बचत अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले बजेट अधिवेशन सुरु भएयता सङ्घीय संसद्का सबै बैठकमा अवरोध गर्दै आएको छ । 

कमेन्टहरु