Opens in a new tab

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

एजेन्सी

315Shares

सारांश

  • चीनको निजी अन्तरिक्ष कम्पनी ‘क्यास स्पेस’ले विकास गरेको ‘किनेटिका–टु वाई टु’ रकेटमार्फत १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ।
  • यो प्रक्षेपण चीनको छियानफान स्याटेलाइट इन्टरनेट परियोजनाअन्तर्गत न्यून भू–कक्षीय सञ्जाल विस्तार गर्ने अभियानका लागि एक महत्त्वपूर्ण उपलब्धि मानिएको छ।
  • यस सफल उडानले चीनका निजी कम्पनीहरूले राष्ट्रिय अन्तरिक्ष पूर्वाधार निर्माण र व्यावसायिक प्रक्षेपणमा आफ्नो क्षमता बढाउँदै गएको स्पष्ट पारेको छ।
dida bag ad

चीनको निजी अन्तरिक्ष कम्पनी क्यास स्पेसले विकास गरेको रकेटले मंगलबार १८ वटा भू–उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो प्रक्षेपण चीनको न्यून भू–कक्षीय स्याटेलाइट इन्टरनेट सञ्जाल विस्तार गर्ने अभियानका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

क्यास स्पेसका अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान ८ः१५ बजे उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन एक्सपेरिमेन्टल जोनबाट ‘किनेटिका–टु वाई टु’ नामक रकेट प्रक्षेपण गरिएको थियो । त्यसले चीनको छियानफान स्याटेलाइट इन्टरनेट परियोजनाअन्तर्गत ध्रुवीय कक्षका लागि तयार पारिएका १८ भू–उपग्रहलाई निर्धारित कक्षमा पुर्‍याएको हो ।

किनेटिका–टु रकेटको यो दोस्रो उडान हो । ठुलो संख्यामा भू–उपग्रह प्रक्षेपण गर्ने उद्देश्यले गरिएको यो पहिलो अभियान हो । यसले चीनका निजी अन्तरिक्ष कम्पनीले राष्ट्रिय अन्तरिक्ष पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउन सक्ने क्षमता विकास गरिरहेको देखाएको क्यास स्पेसले जनाएको छ ।

रकेट कार्यक्रमका प्रमुख डिजाइनर तथा कमान्डर याङ हाओलियाङका अनुसार चीनको न्यून भू–कक्षीय स्याटेलाइट इन्टरनेट निर्माण अहिले तीव्र विस्तारको चरणमा छ । यसका लागि नियमित, विश्वसनीय र कम लागतमा भू–उपग्रह प्रक्षेपण गर्न सक्ने क्षमताको आवश्यकता बढ्दै गएको उनले बताए ।

क्यास स्पेसले स्वतन्त्र रूपमा विकास गरेको किनेटिका–टु चीनको पहिलो ‘युनिभर्सल बुस्टर कोर’ संरचनायुक्त रकेट भएको कम्पनीको दाबी छ । यसले ५०० किलोमिटर उचाइको कक्षमा आठ टन र २०० किलोमिटर उचाइको न्यून भू–कक्षमा १२ टनसम्मका सामग्री पुर्‍याउन सक्छ । त्यसैले ठुलो संख्यामा भू–उपग्रह प्रक्षेपण तथा कम लागतमा अन्तरिक्षमा सामान ढुवानी गर्न यो उपयोगी हुने बताइएको छ ।

यसअघि गत मार्चमा किनेटिका–टु ले आफ्नो पहिलो उडानका क्रममा ‘छिङझाउ’ कार्गो अन्तरिक्षयानको नमुना कक्षमा पुर्‍याएको थियो । पछिल्लो सफल उडानले राष्ट्रिय अन्तरिक्ष कार्यक्रम र व्यावसायिक प्रक्षेपण दुवै क्षेत्रमा रकेटको उपयोगिता देखाएको कम्पनीको भनाइ छ ।

क्यास स्पेसले रकेटको विश्वसनीयता, उत्पादन क्षमता र प्रक्षेपणको दायरा बढाउने योजना राखेको छ । साथै, रकेटको कक्षीय पहुँच विस्तार गर्न थप माथिल्लो चरणको विकास र प्रक्षेपण लागत घटाउन समूहगत बुस्टर पुनःप्राप्ति प्रविधिमा पनि अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।

मंगलबारको उडान किनेटिका रकेट समूहको १८औँ प्रक्षेपण हो । कम्पनीका अनुसार यस शृङ्खलाका रकेटले अहिलेसम्म एउटा अन्तरिक्षयान र १३९ वटा भू–उपग्रह अन्तरिक्षमा पुर्‍याइसकेका छन् । तिनको कुल भार २७ टनभन्दा बढी छ । किनेटिका–टुले आफ्ना पहिलो दुई उडानमार्फत मात्रै नौ टनभन्दा बढी भार कक्षमा पुर्‍याएको छ ।

सांघाई महानगर सरकारको आधिकारिक वेबसाइटमा अक्टोबर २८ मा प्रकाशित विवरणअनुसार चीनको छियानफान स्याटेलाइट इन्टरनेट सञ्जालमा हालसम्म २५६ वटा न्यून भू–कक्षीय ब्रोडब्यान्ड भू–उपग्रह प्रक्षेपण गरिएका छन् । सन् २०२६ को अन्त्यसम्म थप ६८ वटा भू–उपग्रह प्रक्षेपण गरी कुल संख्या ३२४ पुर्‍याउने चीनको योजना छ । यसबाट स्याटेलाइट इन्टरनेट सेवाको व्यावसायिक सञ्चालनका लागि आधार तयार हुने अपेक्षा गरिएको छ ।

अरुपनि पढ्नुहोस

सबै

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

२०८३ कार्तिक १७ | मध्यान्ह ०१:०७ बजे

सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

२०८३ कार्तिक १७ | बिहान ११:०७ बजे