सत्तापक्ष गठबन्धननै सहकारीका ठगहरुलाई बचाउन लागेको काँग्रेसको आरोप


काठमाडौँ, जेठ ७ । नेपाली काँग्रेसले नेपाल सरकार र सत्तापक्ष गठबन्धन सहकारीका केही ठगहरुलाई बचाउन संसदीय मूल्य, मान्यता र परम्परा कमजोर गर्न उद्दत भएको आरोप लगाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक पछि काँग्रेसले यस्तो आरोप लगाएको हो ।
बैठपछि विभिन्न चार बुँदे निर्णय गर्दै कनेपाली काँग्रेससहित संघीय संसदमा रहेका सबै विपक्षी दलहरुले सहकारी ठगीमा संलग्न उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने समेतबारे स्वतन्त्र र निष्पक्ष छानविनको सुनश्चितता गर्न संसदीय छानविन समिति गठन गर्न माग गरी आइरहेको सर्वविदितै रहेको उल्लेख गरेको छ । नेपाल सरकार र सत्तापक्ष गठबन्धन सहकारीका केही ठगहरुलाई बचाउन संसदीय मूल्य, मान्यता र परम्परा कमजोर गर्न उद्दत भएको यो बैठक ठहर गर्दछ, काँग्रेसले भनेको छ ।
यस्तै निर्णयमा २०८१ साल जेठ ७ गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले पटकपटक बोल्न समय माग गर्दा पनि बोल्न नदिने कार्य भएको, संसदमा बोल्न विपक्षीले प्राथमिकता र अवसर प्राप्त गर्ने संसदीय प्रचलन रहेको र “संसद विपक्षको हुन्छ” भन्ने नेपाली संसदीय परम्पराको मान्यता र मर्यादा विपरित सत्तापक्षले बहुमतको दम्भ देखाएको संसदको दृश्यले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको पुनर्पुष्टि भएको उल्लेख गरिएको छ । नेपाली काँग्रेस संसदीय दलको यो बैठक सरकारलाई लोकतन्त्रका मूल्य, मान्यता र संसदीय मर्यादाप्रति असंवेदनशील नहुन चेतावनी पनि दिएको छ ।
बैठकले नेपालको संविधान बमोजिम सम्मानीय प्रधानमन्त्रीले विश्वासको मत लिन तीस दिनको समायावधि रहेकोमा विपक्षी दलहरुको माग बमोजिम संसदीय छानविन समिति गठन गर्नुको साटो पर्याप्त समय हुँदाहुँदै बलमिच्याई गरी विश्वासको मत लिने कार्यले संसदमा विपक्षीलाई स्पेस नदिने र सरकार तानाशाही प्रवृत्ति तर्फ उन्मुख भएको ठहर गरेको छ ।
प्रतिनिधि सभामा देखा परेको दृश्यले सम्माननीय सभामुखको भूमिका पदीय गरिमा अनुकुल नभएको पनि काँग्रेसले उल्लेख गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘‘संघीय संसदको सभामुख जस्तो गरिमामय पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग हुने अवस्थाले संसदीय मूल्य मान्यतालाई कुठाराघात गर्दछ । तसर्थ नेपाली काँग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई संसदीय मूल्य, मान्यता र परम्परा जोगाउने तर्फ काम गर्न गम्भीर रुपले ध्यानाकर्षण गर्दछ ।’’























