अपराध

नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा पूर्व सशस्त्र प्रहरी जवान पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख ३० | मध्यान्ह ०६:०१ बजे

सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित नेपाल बैंकमा कार्यरत सुरक्षा गार्डको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–५ घर भएका चन्द्र बहादुर सुवेदी छन् । ३२ वर्षीय सुवेदी सशस्त्र प्रहरी बलका पूर्व जवान हुन् ।

सुवेदीलाई चितवन प्रहरीसँगको समन्वयमा चितवनको राप्ती नगरपालिका–१ बाट पक्राउ गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले बताए । २६ वैशाखमा राति सप्तकोशी नगरपालिका २ घर भएका परशुराम फुयाँलको हत्या भएको थियो ।

उनी नेपाल बैंक लिमिटेडको सो शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । आरोपीले करिब डेढ वर्षअघि सशस्त्र प्रहरीबाट उपदान लिएर अवकाश रोजेका हुन् । आफ्नो २५ लाख ऋण भएको र सो ऋण तिर्न नसकेपछि लुट्ने उद्देश्यले सुरक्षा गार्डको हत्या गरेको आरोपीले प्रहरीलाई बयान दिएका छन् ।

मृतक र आरोपी एउटै नगरपालिकाका स्थानीय हुन् ।

कमेन्टहरु