Opens in a new tab

अर्थ

 नेपाल विद्युत् प्राधिकरणका कामकारबाही पारदर्शी

नवलपुर टुडे
२०८१ बैशाख २७ | बिहान ०६:०१ बजे

काठमाडौँ, वैशाख २७ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो र संस्थाका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध सुनियोजित र गलत प्रचार तथा टीकाटिप्पणी भएको भन्दै त्यस्ता समाचारको खण्डन गरेको छ । 

विगत केही दिनदेखि केही सञ्चार माध्यमबाट आफूप्रति सुनियोजित रूपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जाललगायतमा भइरहेका टीकाटिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको कार्यकारी निर्देशक घिसिङले जनाउनुभएको छ । 

केही सञ्चार माध्यममा आफ्नो र परिवारका सदस्यको चरित्र हत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्‍याउने उद्देश्यले सुनियोजित रूपमा दूषित मनसायका साथ कपोलकल्पित ढङ्गले भ्रमपूर्ण रूपमा समाचार सम्प्रेषण गरिएको उहाँको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, “निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेका व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निहित स्वार्थका साथ यस्ता समाचारहरू सम्प्रेषण भइरहेको मेरो ठम्याइ रहेको छ । जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक जवाफदेही बनी जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयका साथ लगाइएका आरोपको  खण्डन गर्दछु ।”

नेपाल विद्युत् प्राधिकरणका हरेक कामकारबाही पारदर्शी रूपमा भइरहेको स्पष्ट पार्दै घिसिङले ऊर्जा क्षेत्रका योजना कार्यान्वयन गर्ने निकायको कार्यकारी प्रमुखका रूपमा आफ्नो भूमिका अझै निष्ठापूर्वक, इमानदार भएर पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।  

कमेन्टहरु