अपराध, अर्थ

बुटवलमा सुप्रिम सहकारीका बचतकर्ताको प्रदर्शनः ‘जीबी राई खोई? भन्देऊ न रवि दाइ!’ (तस्बिरसहित)

नवलपुर टुडे
२०८१ बैशाख ४ | मध्यान्ह ०४:०१ बजे

बुटवल, वैशाख ४ । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको मुद्दामा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर अदालतमा मुद्दा दर्ता भएको भोलिपल्ट बुटवलमा बचत रकम फिर्ताको माग राख्दै प्रदर्शन भएको छ।

सहकारी ठगीमा संलग्न गितेन्द्रबाबु (जीबी) राईसहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै सुप्रिम सहकारीका बचतकर्ताहरुले बुटवलमा प्रदर्शन गरेका हुन्। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन ट्राफिक चोकसम्म पुगेर कोणसभामा परिणत भएको थियो।

प्रदर्शनमा सहभागीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोई? भन्देऊ न रवि दाइ’,‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे।

suprim sahakari pidit protest 1

प्रदर्शनमा सहभागी सहकारी पीडितले सुप्रिमका बचतकर्ताको २ करोड रकम गैरकानुनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा गएको प्रहरी अनुसन्धानबाट पुष्टि भए पनि अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका थिए।

सहकारी पीडित संघर्ष समिति संयोजक विजयकुमार नेपालले प्रतिपक्षमा हुँदा गृहमन्त्री लामिछानेले आरोप लागेका व्यक्तिमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बोलेको तर अहिले किन तयार नभएको भन्दै प्रश्न उठाए। अर्का बचतकर्ता कृष्णप्रसाद खरेलले सर्वसाधारण बचतकर्ताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नता पुष्टि भए पनि प्रहरीले प्रतिवादी नबनाउनुले निष्पक्ष अनुसन्धान हुनेमा शंका उत्पन्न भएको बताए।

suprim sahakari pidit protest 4

सुप्रिमका अध्यक्ष जीबी राईसहित एमालेकै अर्का नेता केबी उप्रेती पनि सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएकाले लहरो तान्दा पहरो गर्जिन्छ भनेर सत्ताको आडमा सबैलाई बचाउने खेल भएको हुनसक्ने खरेलले आरोप लगाए।  अर्का सहकारी पीडित देवीलाल भट्टराईले जीबी राईलाई छिटो पक्राउ नगरे तथ्य प्रमाणहरु नष्ट हुनसक्ने भएकाले राईको सुरक्षा र पक्राउलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए।

suprim sahakari pidit protest 2

सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

कमेन्टहरु