सहकारीका अरबौ ठगी गर्ने जीबी राईले मलेसियामा एमएमटुएच सेवा लिएर बसेकाले पक्राउ गरी नेपाल ल्याउन कठिन


काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोलले) रेड नोटिस जारी गर्दा पनि ओखलढुंगाका गितेन्द्र बाबु राई (जीबी) पक्राउ परेका छैनन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम ठगीका मूख्य आरोपी जीबी मलेसियामा रहेको पुष्टि हुँदा पनि कानुनी दायरा बाहिर बस्न सफल भएका हुन् ।
प्रहरी महानिरीक्षक (आईजीपी) बशन्त बहादुर कुवँरले मलेसिया सरकारको असहयोगका कारण जीबीलाई पक्राउ गर्न नसकिएको बताउँदै आएका छन् । एक हप्ताअघि संसद्को राज्य व्यवस्था तथा सुुशासन समितिको बैठकमा जीबी राईबारे उठेको प्रश्नको जवाफ दिँदै आईजीपी कुँवरले भनेका थिए, “ठगीको मूख्य जड नै जीबी हो । त्यसमा हामी संवेदनशील नै छौँ ।
तर, मलेसिया सरकारसँग सुपुर्दगी सन्धि नहुँदा मलेसिया प्रहरी पक्राउ गर्न बाध्य भएन । त्यसमा पनि जघन्य अपराध नभई आर्थिक अपराध हुँदा जीबीले कानुनी सहुलियत पाए ।” सुपुर्दगी नहुदा पनि सरकारको तर्फबाट जीबीलाई पक्राउका लागि कूटनीतिक पत्राचार गर्दा पनि मलेसिया सरकारले चासो नदिएको आईजीपी कुँवरको गुनासो थियो । सरकारको तर्फबाट प्रयास सफल नभए पनि जीबीलाई आफ्नै व्यक्तिगत पहलबाटसमेत नेपाल ल्याउने बारे आफूले पहल थालेको उनले बताएका थिए ।
सुपुर्दगी सन्धि वा पारस्पारिक कानुनी सहायता भनेको दुई देशबीच अपराधीलाई औपचारिक रुपमा ल्याउने वा पठाउने माध्यम हो । जुन नेपालले हालसम्म कुनै देशसँग गरेको छैन ।























