अर्थ

दोलखाको जिरी महोत्सबको तयारी पूरा

नवलपुर टुडे
२०८० चैत्र १२ | मध्यान्ह ०५:१२ बजे
महोत्सवबारे जानकारी गराइँदै ।

दोलखा, चैत १२ । दोलखाको जिरीमा हुन लागेको १० दिने जिरी महोत्सब २०८० को अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ । सदरमुकाम चरीकोटमा सोमबार पत्रकार सम्मेलन गरी चैत २३ गतेदेखि २०८१ वैशाख २ गतेसम्म हुने महोत्सवको अन्तिम तयारी पूरा भएको जानकारी गराइएको हो । 

नेपालको स्विटजरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक, कृषि, पर्यटन, संस्कृति छन् आधार मूलनारासाथ हुने दोस्रो जिरी महोत्सवमा नौ स्थानीय तह र छिमेकी जिल्ला रामेछापको गोकुल गङ्गा र उमाकुण्ड गाउँपालिका साझेदार र नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र, उद्योग तथा वाणिज्य कार्यालय, प्राइम कमर्सियल बैंक, एकीकृत फ्रेन्डसिप सहकारी, नेपाल पत्रकार महासंघ र राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी प्रबर्धक रहेका मुख्य आयोजक उद्योग वाणिज्य संघ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो । 

जिरीभित्रका पर्यटकीयस्थललाई गन्तव्यको रुपमा विकास गर्न, स्थानीय मौलिक उत्पादनको प्रचारप्रसार, सहभागीलाई पेथक मनोरञ्जन प्रदान गर्नु, व्यावसायिक चेतना अभिवृद्धि गर्नुलगायत महोत्सवको उद्देश्य रहेका छन् । महोत्सवमा एकसय स्टल रहेका छन् । ५० हजारले अवलोकन गर्ने, एक करोड आम्दानी हुने र करिब ४५ लाख खर्च हुने अपेक्षा राखिएको आयोजकले जनाएको छ । विज्ञबाट जिरीको विकासलाई टेवा पुग्ने शैक्षिक, साँस्कृति, आर्थिक,  विकास लगायतका बहस चलाइने छ । 

मनोरन्जनका लागि प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलारकारको प्रस्तुति रहने बताइएको छ । स्थानीय परिकार, भेषभूषा झल्कने वस्तुको स्टलमा राखिने, जिरीका खानाका परिकार र गीत तथा नृत्य मुख्य बजारमा राखिनेछ । जिरीबजार मात्र होइन फैलिएको जिरी क्षेत्रको भ्रमण गराउन प्याकेजसहित यातायातको व्यवस्था गरिने कार्यतालिका रहेको श्रेष्ठले बताउनुभयो । 

कमेन्टहरु