सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ


नवलपरासी, चैत ९ । पश्चिम नवलपरासी प्रहरीले सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादीलाई २२ वर्षपछि पक्राउ गरेको छ । २०५८ कार्तिक १५ गते राती बर्दघाट नगरपालिका वडा नं. १६ सुर्यबस्ती बस्ने बुद्धिजंग रानालाई गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्न सोही ठाउँका ४२ वर्षीय केशव गुरुङ भन्ने करण गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
घटना पश्चात भरत गई लुकेको र नेपालका विभिन्न स्थानमा रहदैँ हाल घर गाँउमा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार दिउसो अन्दाजी ३ बजेको समयमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १६ मा फेला पारी नियन्त्रणमा लिएको पश्चिम नवलपरासीका सुचना अधिकारी एवं डीएसपी रेशम बोहराले जानकारी दिए । उनलाई बिहीबार फैसला कार्यन्वयनको लागी सम्मानित नवलपरासी जिल्ला अदालत परासी पठाईएको डीएसपी बोहराले बताए ।
घटनाको विवरण
मिति २०५८।०७।१५ गते राती साविक दाउन्ने देवी गा.वि.स. वडा नं. १ स्थित प्लट नं. ०६ मा मृतक बुद्धीजंग राना साथीहरूसंग सास्कृतिक कार्यक्रम हेर्न गएको र कार्यक्रम सकेपछि मेला नजिक पार्किङमा राखेको मोटरसाईकलको हेलमेट सम्बन्धमा अर्को पक्षसंग वादविवाद हुँदा मृतक माथी प्रतिवादीहरु केशव गुरुङ भन्ने करण गुरुङ समेतले खुकुरी प्रहार गर्न लागेको अवस्थामा त्यँहा रहेका अन्य मानिसहरुले देखी खुकुरी खोसी दुवै पक्षलाई सम्झाई बुझाई गरी मेल मिलाप गराएका थिए ।
त्यसपछि सो स्थान नजिकै खाना खाई मोटरसाईकलमा फर्किदै गरेका मृतक बुद्धिजंग रानालाई दाउन्ने देवी गा.वि.स. वडा नं. १ र २ को सिमानामा आई पुग्दा पहिलेको झगडाको रिसिईवी लिई प्रतिवादीहरु करण गुरुङ समेत ४ जना भई गोली प्रहार गरेकाले घाईते भएको र उपचारको क्रममा मिति २०५८।०७।१६ शिक्षण अस्पताल काठमाण्डौमा मृत्यु भएको थियो ।
सम्मानित जिल्ला अदालत नवलपरासीको मिति २०६६/०३/२८ गतेको फैसलाले निजउपर सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।























