अपराध

स्टाफ नर्स हत्या प्रकरण : प्रेमिकाको हत्यापछि प्रेमी शिवशंकरले पनि गरे आत्महत्या

नवलपुर टुडे
२०८० चैत्र ५ | बिहान ०७:१२ बजे

विराटनगर, चैत ५ । मोरङको विराटनगर–४ स्थित नोबल टिचिङ्ग अस्पतालमा कार्यरत २२ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दास आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । दास आइतबार राती नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकाकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि डेरा बस्दै आएकी थिइन् । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शुक्रबार दिउँसो १२ बजेतिर उनको हत्या भएको अवस्थामा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको गहिरो चोट थियो ।

चन्द्रिकाकुमारीको हत्या गरेर फरार भएका प्रेमी शिवशंकरलाई प्रहरीले खोजी गरिरहेको थियो । फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । शिवशंकरले प्रयोग गर्ने फोनको लोकेसन ट्याक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोलीले उनको झुण्डिएको अवस्थामा शव फेला पारेको एसपी कार्कीको भनाइ छ ।

शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिकाकुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ । शिवशंकर र चन्द्रिकाकुमारी चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसिया गएपछि यता चन्द्रिका कुमारीको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो ।

चन्द्रिकाकुमारीले प्रेममा धोका दिने भएपछि हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । “चन्द्रिकाको हत्या गरेँ र अब म पनि आत्महत्या गर्छु” भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पाइएको प्रहरीले जनाएको छ । शिवशंकर २७ फागुनमा मलेसियाबाट फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।

प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको छ । उक्त कटर प्रहरीले बरामद गरेको छ ।

कमेन्टहरु