पीडित भनिएकी महिलाले नै फिर्ता लिइन् कृष्ण कँडेलविरुद्ध दर्ता गरेको मुद्दा


काठमाडौँ, फागुन २३ । लोकगायक तथा चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा पीडित महिलाले नै फिर्ता गरेको श्रोतले बताएको छ ।
इन्द्रेणी कार्यक्रममै कार्यरत एक महिला कलाकारले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास गरेको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी थिइन् । आफूलाई पटक पटक करणीको प्रयास गरिएको र महिलाकै कोठामा समेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।
पीडित महिलाले अहिले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएको स्रोतले बतायो । ती महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि कँडेलले पनि उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा फिर्ता लिएको बताइएको छ ।






















