अपराध

पेस्टोलको गोली र ब्राउन सुगरसहित चार जना पक्राउ

जगत ठाडा मगर
२०८० माघ २४ | मध्यान्ह ०६:१० बजे

ललितपुर, माघ २४ । ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीस्थित एक घरबाट प्रहरीले पेस्तोलको गोली र ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक र तीन जना नेपाली छन् । सोही वडामा बस्ने सुरेश उप्रेती, लायोक कङ्दवा (लिम्बू), प्युठान घर भई हाल भक्तपुर बस्ने मनोज थापा र भारतीय नागरिक सिनामंगल बस्ने सञ्जय मेहता पक्राउ परेका हुन् । 

प्रहरीले उनीहरूलाई लायोक बस्ने घरबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट १४.६८ ग्राम ब्राउन सुगर र दुई राउण्ड नाइन एमएमको गोली बरामद भएको प्रहरीले जनाएको छ ।

लागुऔषधको कारोबार हुन लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग लुभुका इन्चार्ज सई सन्तोष बुढाथोकी कमाण्डमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त सातदोबाटो पठाएर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु