डिआइजी अर्जुन चन्दले दिएको राजीनामा फिर्ता, १० दिन बिदा स्वीकृत


काठमाडौं, माघ २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले पदबाट दिएको राजीना ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालयले फिर्ता गरिदिएको छ ।
राजीनामाको प्रक्रिया र ढाँचा नमिलेको भन्दै प्रधान कार्यालयले उनको राजीनामा पत्र फिर्ता गरिदिएको स्रोतले जानकारी दिएको छ । डिआइजी चन्दले गत शुक्रबार राजीनामा दिएका थिए । ‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो ।
यसबीचमा डिआइजी चन्दले आइजिपी बसन्तबहादुर कुँवरसँग भेटेका थिए । कुँवर र चन्द एउटै ब्याचका हुन् । आइजिपी कुँवरले राजीनामा फिर्ता लिन सुझाव दिएका थिए । साथै एआइजी टेकप्रसाद राईलगायतले पनि डिआइजी चन्दलाई राजीनामाबारे पुनर्विचार गर्न सुझाव दिएका थिए ।
आइजिपी र एआइजीहरूले राजीनामा नदिन सुझाव दिएपछि डिआइजी चन्द बिदामा बसेका छन् । ‘उहाँ १० दिनका लागि बिदामा बस्नु भएको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘बिदा सकेपछि उहाँ जिम्मेवारीमा फर्कनुहुन्छ ।’
विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी अधिकारीबीच कुटाकुट भएको घटनामा बनेको छानबिन समितिले प्रहरी अधिकारीलाई कारबाही सिफारिस गरेपछि डिआइजी चन्द असन्तुष्ट थिए ।






















