कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन

रासस

सारांश
- कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले वीरेन्द्रनगरमा निर्माणाधीन एकीकृत प्रशासनिक भवनको स्थलगत निरीक्षण गरी कार्यप्रगतिबारे जानकारी लिनुभएको छ।
- मन्त्री रोकाले निर्माण कार्यमा उच्च गुणस्तर कायम गर्न, प्राविधिक पक्षमा विशेष ध्यान दिन र सम्बन्धित सबै निकायलाई जिम्मेवार भएर आश्वस्त पार्दै काम अघि बढाउन निर्देशन दिनुभएको छ।
- करिब तीन अर्ब दुई करोड लागतमा बन्ने यो भवन ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने यसबाट प्रदेशका मन्त्रालयहरूको सेवा प्रवाह एउटै स्थानबाट व्यवस्थित हुनेछ।

कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले प्रदेश गौरवको आयोजनाका रूपमा निर्माणाधीन एकीकृत प्रशासनिक भवनको स्थलगत निरीक्षण गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत इत्रामस्थित निर्माणाधीन उक्त भवनको निरीक्षणका क्रममा बुधबार मन्त्री रोका र सचिव अर्जुनकुमार बमले आयोजनाको कार्य प्रगति, निर्माणको गुणस्तर, प्राविधिक पक्ष, प्रयोग हुने निर्माण सामग्री तथा कार्यान्वयनका क्रममा देखिन सक्ने चुनौतीबारे जानकारी लिएका हुन् ।
आयोजना कर्णाली प्रदेशको प्रशासनिक सेवा प्रवाहसँग जोडिएको महत्त्वपूर्ण संरचना भएको मन्त्री रोकाले उल्लेख गरे । निर्माण सम्पन्न भएपछि प्रदेशका मन्त्रालय तथा मन्त्रीका लागि एउटै स्थानबाट प्रशासनिक कामकारबाही र सेवा प्रवाह व्यवस्थित गर्ने आधार तयार हुने उनको भनाइ थियो ।
उनले निर्माणको गुणस्तरलाई मुख्य प्राथमिकतामा राख्न, प्राविधिक पक्षमा विशेष ध्यान दिन तथा कामको जिम्मेवारी स्पष्ट गरी अघि बढ्न निर्देशन दिए । आयोजनामा संलग्न निकाय र मन्त्रालय दुवै जिम्मेवार तथा जबाफदेही हुनुपर्ने उल्लेख गर्दै स्रोतसाधनको उपलब्धता र परिचालनका विषयमा आवश्यक समन्वय गरिने उनले बताए ।
मन्त्री रोकाले निर्माण कार्यमा विभिन्न पक्षका फरक–फरक बुझाइ र चुनौती आउन सक्ने भएकाले समग्र प्रादेशिक आवश्यकतालाई ध्यानमा राखेर आत्मविश्वासका साथ काम गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, निरीक्षणका क्रममा सचिव बमले आयोजनाको प्रगति र गुणस्तरबारे प्रत्येक एक–एक महिनामा नियमित छलफल गर्ने, समस्या देखिएका स्थानमा तत्काल समाधानको पहल गर्ने तथा निर्माणसँग सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए ।
सचिव बमले निर्माणको गुणस्तर सुनिश्चित गर्न प्रयोगशालाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै सरिया, सिमेन्टलगायत निर्माण सामग्रीको परीक्षणमा विशेष ध्यान दिनुपर्ने बताए । प्रयोगशालामा खटिने प्राविधिक कर्मचारीलाई चनाखो र जिम्मेवार हुन उनले सुझाए ।
करिब रु तीन अर्ब दुई करोड २९ लाख ५८ हजार २८० लागतमा निर्माण हुन लागेको उक्त एकीकृत प्रशासनिक भवन निर्माणको जिम्मा कन्टेक–नव सिर्जनशील जेभीले पाएको छ । पूर्वाधार विकास कार्यालय सुर्खेतमार्फत कार्यान्वयन भइरहेको आयोजनाको ठेक्का सम्झौता २०८३ असारमा भएको हो । करिब ३६ महिनामा काम सम्पन्न गर्ने गरी एक महिनाअघि देखि काम सुरु भएको छ ।
प्रदेशका मन्त्रालयको प्रशासनिक कार्यलाई एउटै परिसरबाट सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना कर्णालीको प्रशासनिक पूर्वाधार विकाससँग जोडिएको महत्त्वपूर्ण योजना भएको सचिव बमले जानकारी दिए ।

लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते

बडीमालिका नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला निषेध
अरुपनि पढ्नुहोस
सबै
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

रौतहटमा स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित दुई जना नियन्त्रणमा

रापिङ बुद्धिचालको उपाधि पुरुषोत्तम सिलवाले जिते

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण
















