Opens in a new tab

लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

नवलपुर टुडे

367Shares

सारांश

  • बुद्ध जन्मस्थल लुम्बिनी र भारतको गोवालाई एउटै पर्यटन सर्किटमा जोड्दै भैरहवा र पोखरासँग सीधा हवाई सेवा सञ्चालन गर्ने प्रस्ताव अघि सारिएको छ।
  • नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष नेतृत्वको टोलीले गोवाका मुख्यमन्त्रीसँग भेट गरी संयुक्त पर्यटन प्याकेज निर्माण र लगानी विस्तारमा सहकार्यको प्रस्ताव गरेको छ।
  • धार्मिक पर्यटनका लागि प्रसिद्ध लुम्बिनी र समुद्री पर्यटनका लागि ख्यातिप्राप्त गोवालाई जोड्दा विदेशी पर्यटकको आवागमन र बसाइ अवधि बढ्ने अपेक्षा गरिएको छ।
dida bag ad

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी र भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ। पर्यटन साझेदारी विस्तार र दुवै क्षेत्रबीच पर्यटक आवागमन बढाउने उद्देश्यले नेपाली निजी क्षेत्रले यस्तो प्रस्ताव गरेको हो।

भारतको गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा सहभागी नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल नेतृत्वको १९ सदस्यीय प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री डा. प्रमोद सावन्तसँग भेट गरी लुम्बिनी–गोवा पर्यटन सर्किट निर्माण र भैरहवा–गोवा सीधा हवाई सेवा सञ्चालनको प्रस्ताव राखेको छ।

882003200 1022858527509454 7493454692640731024 n

भेटका क्रममा मुख्यमन्त्री सावन्तले नेपाल र गोवाबीच पर्यटन तथा व्यावसायिक साझेदारी विस्तार गर्ने सम्भावनाप्रति सकारात्मक धारणा राख्दै सहकार्य गर्न सकिने बताएका थिए। नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन र व्यापारमार्फत थप विस्तार गर्न सकिने विषयमा छलफल भएको अध्यक्ष पोखरेलले जानकारी दिए।
नेपाली प्रतिनिधिमण्डलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई उपयोग गर्दै हवाई सम्पर्क विस्तार, संयुक्त पर्यटन प्याकेज निर्माण, होटल तथा आतिथ्य क्षेत्रमा लगानी र पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न प्रस्ताव गरेको थियो।

883404171 1898071674895555 6087754242288566841 n

गोवा समुद्री पर्यटनका लागि प्रसिद्ध छ भने लुम्बिनी धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य हो। यी दुई क्षेत्रलाई एउटै भ्रमण प्याकेजमा जोड्न सके विदेशी पर्यटकको आवागमन, बसाइ अवधि र पर्यटनबाट हुने आम्दानी बढाउन सकिने अपेक्षा गरिएको छ।

प्रतिनिधिमण्डलले पोखरा–गोवा पर्यटन साझेदारी र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत सीधा हवाई सम्पर्क विस्तारको सम्भावना प्रस्तुत गरेको थियो। पोखराको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई गोवाको समुद्री पर्यटनसँग जोडेर संयुक्त भ्रमण प्याकेज विकास गर्न सकिने प्रस्ताव गरिएको हो।

लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०२५ मा लुम्बिनीमा ११ लाख १४ हजार २६६ पर्यटक पुगेका थिए। तीमध्ये सात लाख दुई हजार ९१० नेपाली, दुई लाख ७० हजार ३८७ भारतीय र एक लाख ४० हजार ९६९ अन्य मुलुकका पर्यटक थिए। विशेषगरी श्रीलंका, थाइल्यान्ड र म्यानमारबाट बौद्ध तीर्थयात्रीको आगमन हुने गरेको छ।

गोवाको डा. श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियममा अक्टोबर २९ देखि ३१ सम्म आयोजित तीनदिने सम्मेलनमा विभिन्न मुलुकका उद्योगी, लगानीकर्ता तथा व्यावसायिक प्रतिनिधिहरू सहभागी भएका थिए।

सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, पर्यटन प्रवद्र्धन र लगानीका सम्भावनाबारे छलफल गरेको थियो।
चेम्बरका लुम्बिनी प्रदेश सचिव प्रदीप आचार्यका अनुसार सम्मेलनमा राज्यसभा सदस्य सदानन्द शेट तानावडे, भारतका पूर्वकेन्द्रीय मन्त्री सुरेश प्रभु, भाइब्रेन्ट गोवाका अध्यक्ष राजकुमार कामतलगायतको सहभागिता थियो।