पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

रासस

सारांश
- पाँचथरको फिदिममा पाँचथर, तेह्रथुम र ताप्लेजुङ कार्यक्षेत्र रहेको पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ।
- यस डिभिजनले ग्रामीण सडक, सडक पुल तथा झोलुङ्गे पुल निर्माण र पुनर्निर्माणलगायतका क्षेत्रमा काम गर्ने क्षेत्राधिकार पाएको छ।
- कोशी प्रदेशमा स्थापना भएको यो पहिलो डिभिजन कार्यालयले स्थानीय तहलाई विकास निर्माणमा सघाउनुका साथै जनजीवन सहज बनाउने अपेक्षा गरिएको छ।

पाँचथर । पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले उद्घाटन गरे ।
पाँचथर, तेह्रथुम र ताप्लेजुङ कार्यक्षेत्र रहेको डिभिजनमा ११ जना कर्मचारीको दरबन्दी छ । मन्त्रिपरिषद्को गत असोज १३ गतेको निर्णयबमोजिम स्थानीय पूर्वाधार विकास विभाग मातहतमा डिभिजन स्थापना भएको डिभिजन प्रमुख रामआशिष शाहले जानकारी दिए ।
डिभिजनले पर्यटकीय सडक, स्थानीय तहका केन्द्र जोड्ने सडक, वडा कार्यालय जोड्ने सडक, सडक पुल र झोलुङ्गे पुल निर्माणलगायत क्षेत्रमा कार्य गर्ने क्षेत्राधिकार पाएको डिभिजन प्रमुख शाहले वताउनुभयो । सातै प्रदेशमा रहेका पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालयको मातहतमा देशभरिमा २१ वटा डिभिजनमध्ये कोशी प्रदेशको पाँचथरमा पहिलो डिभिजन स्थापना भएको हो ।
कोशी प्रदेशमा पाँचथर डिभिजनले तेह्रथुम र ताप्लेजुङ, इलाम डिभिजनले इलाम र झापा, धनकुटा डिभिजनले धनकुटा, भोजपुर र सङ्खुवासभा , ओखलढुङ्गा डिभिजनले ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु तथा इटहरी सुपरिवेक्षण कार्यालयले प्रत्यक्ष रूपमा मोरङ, सुनसरी र उदयपुरमा कार्य गर्ने शाहले बताए ।
प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीय तहले समाधान गर्न नसकेका ग्रामीण क्षेत्रका सडक र पुलका समस्या समाधान गर्न कार्यालय परिणाममुखी हुने विश्वास गरिएको बताए । “यहाँ विपद्का कारण ग्रामीण क्षेत्रमा सडक र पुल अलपत्र छन् । तिनको पुनर्निर्माणमार्फत जनजीवन सहज बनाउन यो डिभिजन सहयोगी हुने यहाँको अपेक्षा छ,” प्रजिअ दाहालले भने, “यस कार्यालयबाट यहाँका नागरिकले धेरै लाभ लिन सक्नुपर्छ ।” उनले पूर्वाधार, रोजगारी र उत्पादनमार्फत गरिबी निवारण मद्दत पुग्ने योजना अघि बढाउन पनि डिभिजनलाई आग्रह गरे ।
फिदिम नगरपालिकाका नगर प्रमुख काफ्लेले सङ्घीय सरकारले विकासका प्रायः सबै कार्य गर्ने पूर्वाधार विकास मन्त्रालय मातहतको कार्यालय स्थापना हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको बताए । उनले सङ्घीय कार्यालय स्थापना हुँदा स्थानीय तहलाई काम गर्न सघाउ पुग्ने बताए।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















