झापाको सानो माईखोलाको बगरमा बदाम खेती

रासस

सारांश
- झापा गाउँपालिकाका राजु अग्रवालले गत वर्षको बाढीले बगर बनाएको दुई बिगाहा धानखेतमा नयाँ प्रयोग गर्दै व्यावसायिक बदाम खेती सुरु गर्नुभएको छ।
- भारतीय बजारबाट बीउ ल्याएर गरिएको परीक्षण सफल भएपछि उहाँले उत्पादन गरेको २० क्विन्टल बदाम प्रतिकेजी १०४ रुपैयाँमा बिक्री भइरहेको छ।
- कृषि प्राविधिकहरूका अनुसार तराईको न्यानो मौसम र बलौटे–दोमट माटो बदाम उत्पादनका लागि उपयुक्त हुने भएकाले परम्परागत बालीभन्दा यसबाट राम्रो आम्दानी लिन सकिन्छ।

झापा । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा पर्नुभएका अग्रवालले एउटा जुक्ति निकाले – केही नयाँ खेती गर्ने । निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदाम खेती ।
बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन् । बजारमा उनले फलाएको बदाम प्रतिकेजी रु १०४ का दरले बिक्री भइरहेको छ । “धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,” उनले बदामखेतीको सङ्घर्षको कथा सुनाउँदै भने, “बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइनँ । कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले । बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।”
उनले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा क्षेत्रफलमा बदामको परीक्षण खेती गरेका थिए । बाली सप्रिएपछि उत्साहित बनेका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पुर्याएका छन् ।
पहाडी क्षेत्रमा हुँदै आएको बदाम खेती झापा जस्तो तराई क्षेत्रमा फस्टाउनु अनौठो भएको छ । तर, कृषि प्राविधिकहरूले तराई क्षेत्रमा बदाम फल्छ भनेर दिएको सल्लाहलाई उहाँले परीक्षणबाटै साबित गरे ।
धान वा अन्य परम्परागत बालीभन्दा बदाम खेतीबाट राम्रो फाइदा लिन सकिने उनको अनुभव छ । जेठ महिनामा रोपिएको बदाम कात्तिक महिनामा फलेपछि उनलाई अहिले बाली भित्र्याउने चटारो छ । बदाम लहरे बाली हो । उनले यस पटक बदाम बिक्री गरेर राम्रो आम्दानी हुने बताए ।
खुकुलो, हलुका र बलौटे–दोमट माटो भएकाले तराईको न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त मानिने झापा गाउँपालिकाका कृषि प्राविधिक रीता बर्देवाले बताइन् । स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले बदाम अति नै गुणकारी मानिन्छ ।

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन

लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउने प्रस्ताव, सीधा उडानमा जोड

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला पोखरा रङ्गशालामा सुरु

बैतडीमा जिप दुर्घटनामा एक जनाको मृत्यु, छ जना घाइते
अरुपनि पढ्नुहोस
सबै
बडीमालिका नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला निषेध

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

रौतहटमा स्रोत नखुलेको ठूलो परिमाणको नगद रकमसहित दुई जना नियन्त्रणमा

रापिङ बुद्धिचालको उपाधि पुरुषोत्तम सिलवाले जिते
















