मुख्य समाचार

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा अरूण चौधरी र थापा पक्राउ

जगत ठाडा मगर
२०८० माघ १८ | मध्यान्ह ०२:१० बजे

काठमाडौ, माघ १८ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको छ ।

चौधरी ग्रुपका सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरूण चौधरी र कारखानाको तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । चौधरीलाई राजधानीको लाजिम्पाटबाट र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीहरूमाथि वि.सं. २०४२ सालदेखि सरकारी जग्गालाई आफ्नो नाममा बनाउने काम सुरू गरेको आरोप छ ।

सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिइन् । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गरेको उनीहरूमाथि आरोप छ । ‘उनीहरूले भटाभट सरकारी जग्गा विभिन्न मितिमा आफ्नो नाममा बनाएको देखिन्छ । यसबारे मन्त्रिपरिषदले कुनै पनि निर्णय गरेको पाइएन,’ स्रोतले भन्यो, ‘सबै मिलेमतोमा आफ्नो नाममा गरेको देखिन्छ । अहिले जग्गाका मुख्य शेयर धनी चौधरी र थापालाई पक्राउ गरियो । अरू पनि शेयर धनी हुन सक्छन्, ती पक्राउ पर्छन् ।’

वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी  बनाई उक्त जग्गामा चाँदबाग स्कुल सञ्चालन गर्दै आएको छ । तत्कालीन दरबारका साथसाथै उच्चपदस्थ अधिकारीलाई मिलाएर उक्त जग्गा कब्जा गरेको देखिएको सीआईबीको भनाइ छ । उक्त जग्गा अहिले अरुण चौधरी र उनकी श्रीमती शिलाको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा रहेको देखिन्छ ।

यस प्रकरणमा सिआइबी र अख्तियारले समेत छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु