नवलपरासीबाट मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना पक्राउ


नवलपरासी, माघ ८ । पश्चिम नवलपरासी प्रहरीले मानव बेचबिखन तथा ओसारपसार गर्ने आरोपमा ३ जनालाई पक्राउ गरेका छन ।
पक्राउ पर्नेहरुमा रामग्राम नगरपालिका- २ हाट बजार टोल बस्ने बर्ष २१ का कलिम मियाँ, भारत देवरिया थाना बरहजवा ग्राम करजहाँ बस्ने २६ बर्षका अरुण मल र भारत महाराजगंज थाना कोतवली ग्राम दुबौली टोला छोटी पकडी नौनिया बस्ने वर्ष २८ को शैलेश बर्मा रहेका छन ।
उनीहरुलाई आइतबार बेलुका ८ बजेको समयमा ड्युटीमा खटिएका प्रहरीको गस्ती टोलीले पाल्हिनन्दन गाउँपालिका- ५ चमनटोलास्थित नेपाल भारत दशगजा क्षेत्रबाट पक्राउ गरिएको हो ।
कलिमले लु १८ प ५२६९ नम्बरको मोटरसाइकलमा बसाली ल्याएको दुई जना किशोरीलाई युपी ५३ डिबि ४८३२ नम्बरको मोटरसाइकलमा आएका अरुण मल र शैलेश बर्माको जिम्मा लगाईरहेको अबस्थामा शंका लागि सोधपुछ गर्दा ती किशोरीहरुलाई ललाईफकाई प्रलोभन देखाई भारतको गोरखपुर तर्फ लैजान लागेको बुझिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
उनका अनुसार किशोरीहरुलाई उद्दार गरी बेच बिखनमा संलग्न युवकहरुमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दामा सम्मानित जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ ।























