वीरगञ्ज महानगर प्रमुख सिँहले नक्कली बाबू बनेर एक किशोरीलाई नागरिकता दिलाएको खुलासा


पर्सा, पुस २४ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नक्कली बाबु बनेर एक जना किशोरीलाई नागरिकता दिएको भेटिएको छ । प्रमुख सिंहले रुबिना श्रेष्ठ नामकी एक किशोरीलाई आफू बाबु बनेर नागरिकता दिएको आरोप छ ।
२०७५ साल साउन १३ गते वीरगञ्ज महानगर वडा नं ३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो पटक नागरिकता लिएको थियो । त्यतिबेला प्रशासकीय अधिकृत षड् कुमार पोखरेलले नागरिकता जारी गर्दा जिल्ला प्रशासन कार्यालय पर्सामा लोकनाथ पौडेल प्रमुख जिल्ला अधिकारी थिए ।
रुविनाको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ तर आमाको नाम भने खुलाइएको छैन । उनले २०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवद्वारा प्रतिलिपि नागरिकता लिएका थिए । प्रशासकीय अधिकृत श्रीवास्तवले पुरानो ढड्डाको आधारमा प्रतिलिपि नागरिकता जारी गरिएको बताए ।
‘वडा कार्यालयबाट आएको सिफारिसका आधारमा सम्पूर्ण प्रमाणलाई केलाएर तत्कालीन समयमा नागरिकता जारी गरेको देखिन्छ, उहाँले प्रमाणसहित मेरो छोरी हो भनेर आएपछि हामीले के गर्न सक्छौँ र ?’ श्रीवास्तवले भने, ‘यो विषय अब थप अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।’
महानगर प्रमुख सिंहले रुविनालाई नागरिकता दिलाउनका लागि प्रक्रियागत रुपमा सबै कागजपत्र पूरा गरेको स्थानीय प्रशासनले जनाएको छ । सिंह रुविनाको बाबु भने नभएको स्थानीय जनप्रतिनिधि र मेयर सिंहका छिमेकी बताउँछन् । वीरगञ्ज महानगर वडा नं ३ स्थायी ठेगाना भएका महानगर प्रमुखको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एउटा छोरा अनिशमान सिंह श्रेष्ठमात्रै छन् ।
रुविनालाई नागरिकता दिनका लागि वीरगञ्ज महानगरपालिका वडा नं. ३ ले सिफारिस दिएको छ । नागरिकताको सिफारिस दिँदा वडा अध्यक्ष रहेका बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताका लागि सिफारिस गर्दा उनलाई बिदामा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालीन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए ।
वडा अध्यक्ष बैजुलालले आफूलाई यसबारे कुनै जानकारी नभएको र मेयरले किशोरीलाई छोरी भनेर नागरिकता सिफारिस मागेको विवरण वडामा नभएको दाबी गरे । यस्तै पर्साका प्रजिअ तथा सहसचिव दिनेशसागर भुसालले वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले झुटो कागजपत्र पेस गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने बताए ।
महानगर प्रमुख सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता कीर्ते गरेको भन्दै जाहेरी समेत परेको छ । यता, सिंह भने ६ वर्ष अघि जारी भएको नागरिकताको विषयलाई अहिले सार्वजनिक गरेर बदनाम गर्न खोजिएको भन्दै कानुनी उपचार जाने बताएका छन् ।
उनले रुविना श्रेष्ठलाई आफु बाबु बनेर नागरिकता जारी गरेको भने घुमाउरो पाराले स्विकार गरेका छन् । ‘विगतमा मान्छेको निजी जीवनमा के के हुन्छ हुन्छ, अहिले सार्वजनिक पदमा बसेको बेलामा सार्वजनिक गर्न मिल्छ ?,’ महानगर प्रमुख सिंहले भने, ‘यो विषयलाई लिएर कानुन व्यवसायीसँग मेरो छलफल भईसकेको छ म भोली नै कानुनी उपचारमा जाँदैछु ।’
गैरकानुनी ढंगबाट नागरिकता प्राप्त गरेकी किशोरी रुविना हाल राहदानी बनाएर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको जनाइएको छ ।























