जयशंकर प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगे


काठमाडौं । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकर नेतृत्वको प्रतिनिधिमण्डल सिंहदरबार पुगेको छ। बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टोली सिंहदरबार पुगेको हो।
त्यसअघि जयशंकर नेतृत्वको टोलीलाई परराष्ट्र मन्त्री एनपी साउद लगायत मन्त्रालयकी सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए।
भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री जयशंकर, विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू छन् ।
संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका बृहत् विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।






















