उपप्रधानमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै

नवलपुर टुडे
२०८० कार्तिक १९ | मध्यान्ह ०१:०७ बजे

काठमाडौँ, कार्तिक १९ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्पपीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जाँदै छन् ।
नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एक हजार ५० स्लिपिङ ब्याग, दुई सय दुई त्रिपाल र एक सय ब्ल्याङ्केटसमेत वितरण गर्ने गृहमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, ऊर्जा मन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन् ।























