एसएसपी दानबहादुर कार्की र एसपी रमेशकुमार बस्नेतले सर्वोच्चबाट पाए क्षमादान

नवलपुर टुडे
२०८० साउन १४ | मध्यान्ह ०५:०४ बजे

काठमाडौं, साउन १४ । सर्वोच्च अदालतबाट जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्की र एसपी रमेशकुमार बस्नेतले अदालतको अवहेलना मुद्दामा क्षमादान पाएका छन् ।
क्षमादानका लागि परेको निवेदनमा आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमारप्रसाद चुडालको इजलासले दुवैजनालाई अदालतमै उपस्थित गराएर क्षमादान दिएको हो । अदालतको अपहेलना मुद्दामा दोषी ठहर भएकाले क्षमादानको निवेदन दिएको खण्डमा क्षमादान हुनसक्ने व्यवस्थालाई टेकेर सर्वोच्चले आदेश गरेको हो ।
यसअघि उनीहरुलाई १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो । अदालतको आदेश नटेरेको भन्दै जगतमाया श्रेष्ठले सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी रिट दायर गरेकी थिइन् ।























