राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासीमा सम्मान


रामग्राम समाचारदाता
रामग्राम, फागुन १३ । क्रिकेट खेल मार्फत नेपाललाई विश्वभर चिनाउन सफल राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई गृह जिल्ला नवलपरासी ( बर्दघाट —सुस्ता पश्चिम ) को बर्दघाटमा आज सम्मान गरिएको छ ।
बर्दघाटमा आयोजित एक कार्यक्रम बिच कप्तान पौडेललाई संघीय सांसद विनोद चौधरीले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा सांसद चौधरीले कप्तान पौडेलले क्रिकेट खेल मार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धीले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको बताउनुभयो । उहाँले आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताउनुभयो । उहाँले आफूहरूको अबको लक्ष्य विश्वकप छनोट भएको उल्लेख गर्नुभयो । “अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो । त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,” उहाँले भन्नुभयो ।
उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेको हो । नवलपरासी बर्दघाट –१४ निवासी पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो ।

योपनि, नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा संचालनमा आएको छ । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पक्लीहवास्थित स्वास्थ्य केन्द्रमा विशेषज्ञ सुविधासहितको बर्थिङ सेन्टर सञ्चालनमा आएको हो ।
सोमबार प्रतिनिधिसभा सदस्य विनोद चौधरीले सुस्ता गाउँपालिकाको वडा नं. ५ रहेको स्वास्थ्य चौकीको भवन सहित बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो । नवलपरासी क्षेत्र नं. १ बाट निर्वाचित सांसद चौधरीले सेन्टर सञ्चालनमा आएपछि ग्रामिण क्षेत्रका महिलाहरु लाभान्वित भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले जिल्लाको दक्षिण भेगका दिदीबहिनीहरुले गाउँमै विशेषज्ञसुविधासहितको प्रसुति सेवा पाउने बताउनुभयो ।
साथै उहाँले स्वास्थ्य केन्द्रको स्तरोन्नतिपछि स्थानीयले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । ‘चुनावका बेला गरिएको प्रतिवद्धता कार्यान्वयनमा हामी प्रतिवद्ध छौं,’ उहाँले भन्नुभयो, निर्वाचनका बेला हामीले जे गर्छाैं भनेका छौं, त्यसका लागि व्यवस्थित विकासको खाका बनाएर अगाडि बढिसकेका छौं ।’
प्रदेश सभा सांसद देवकरणप्रसाद कलवारले चुनावपछि निर्वाचन क्षेत्रमा विकासका कामले तीब्रता पाएको बताउनुभयो । उहाँले सांसद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सञ्चालनमा आएको बताउनुभयो । ‘माननीय विनोदजीले चुनाव जितेपछि हाम्रो निर्वाचन क्षेत्रमा विकासका कामहरु अगाडि बढेका छन्,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालको स्तरोन्नतिदेखि बर्थिङ सेन्टर सञ्चालन त्यसैका उदाहरण हुन् ।’ सांसद चौधरीले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो । सम्झौता अनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक, एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएको हो ।
त्यस्तै गाउँपालिकाले प्रत्येक वडामा नियमित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताउनुभयो ।
फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनका सचिव सारिका चौधरीले बताउनुभयो । “बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो । फाउण्डेसनको सहयोगमा बर्दघाटमा रहेको चिसापानी अस्पतालको स्तरोन्नतिको काम पनि अगाडि बढिसकेको छ ।
























