मुख्य समाचार

सांसद चन्द्र भण्डारीको उपचारमा लागेको ५५ लाख ८८ हजार रुपैयाँ खर्च सरकारले व्यहोर्ने

नवलपुर टुडे
२०७९ चैत्र ७ | मध्यान्ह ०५:१२ बजे

काठमाडौँ, चैत्र ७ । सरकारले नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको उपचारमा लागेको सम्पूर्ण खर्च व्यहोर्ने भएको छ । गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते भएका नेता भण्डारीलाई उपचारका लागि भारत लैजाँदाको ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ खर्च सरकारले व्यहोर्ने भएको हो ।

सत्ता साझेदार कांग्रेसकै दबाबमा सरकारले नेता भण्डारीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गत फागुन ११ गते बसेको मन्त्रिपरिषद्ले गरेको थियो । राजनीतिक दलकै सदस्य एवं नेता भएकै कारण राज्य कोषको दुरुपयोग यसअघि पनि पटक पटक हुँदै आएको छ । यसैगरी १० वर्ष अघिका उपराष्ट्रपति परमानन्द झाका सवारी चालकलाई पारिश्रमिक भुक्तानीस्वरुप सरकारले २ लाख ७६ हजार दिएको छ । मन्त्रिपरिषद्को गत असोज ७ गते निर्णय भए पनि फागुनमा मात्रै अर्थले भुक्तानी दिएको हो ।

सरकारले फागुनमा मात्रै विभिन्न व्यक्तिलाई ६४ लाख ८८ हजार रुपैयाँ आर्थिक सहायता दिइएको पाइएको छ । भाषा आयोगका ५ जना कर्मचारीलाई तलबबापत ३९ लाख ८ हजार रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत विघटन भइसकेको नेपाल यातायात संस्थानको अवकाश पाएका एक सय १० जना कर्मचारीलाई ७१ लाख २ हजार रुपैयाँ र डिभिजन सडक कार्यालय काठमाडौँका तत्कालीन इन्जिनियर नरनाथ पौडेलको सुविधाका लागि २२ लाख ८६ हजार भुक्तान गर्न अर्थले बजेट निकासा गरेको छ ।

मन्त्रालयले आफ्नो वेभसाईटमार्फत भुक्तानी विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार भूमि व्यवस्थापन तथा अभिलेख विभागका निलम्बन भएका ६ जना कर्मचारीको निलम्बन अवधिको आधा तलब र भत्ता रकम प्रदान बापत ६६ लाख ४ हजार, सहरी विकास तथा भवन निर्माणका निलम्बनमा परेका दुई कर्मचारी कोमानन्द अधिकारी र दीपा श्रेष्ठको निलम्बन अवधिको तलब भत्ता बापत ४२ लाख ४४ हजार रुपैयाँ समेत निकासा गरिएको विवरणमा उल्लेख छ ।

संविधान दिवसमा विभूषणका लागि तक्मा बाँड्न एक करोड २४ लाख, राष्ट्रपतिको कार्यालयको श्रव्य दृश्य सामाग्री निर्माणका लागि सात लाख रुपैयाँ दिने निर्णयअनुसार अर्थले सो रकम पनि निकासा गरेको छ । विविध शीर्षकबाट तलब भत्ता, भ्रमण लगायतका लागि अर्थले फागुनमा मात्रै ३७ करोड ४९ लाख रुपैयाँ निकासा गरेको विवरणमा उल्लेख छ ।

कमेन्टहरु