राष्ट्रपति पदको उम्मेदवार मनोनयनपत्र दर्ताअघि आठ दलको बैठक बस्दै


काठमाडौ । उम्मेदवारको मनोनयनपत्र दर्ताअघि आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रपतिमा कांग्रेस उम्मेवारलाई सघाउने निर्णय भएसँगै शनिबार आठ दलको बैठक बस्न लागेको हो।
सिंहदरबारमा दिउँसो पौने १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। ‘पौने १ बजे सिंहदरबारमा पुग्नेछौं, त्यहीँ नै अन्य सहयोगी दलका नेतासँग छलफल गर्नेछौं,’ उनले भने।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।
कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच शुक्रबार साँझ छलफल भएसँगै कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।





















