निर्वाचन आयोगले बुझायो राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवदेन


काठमाडौं, माघ २९ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
आइतबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवदेन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले गत आर्थिक वर्षमा स्थानीय तह सदस्यको निर्वाचन र चालू आर्थिक वर्षमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा आयोगलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाका साथै निर्वाचन आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र आयोगका सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो ।
























